
काठमाडौं, ५ फागुन । काठमाडौं महानगरपालिका वडा नम्बर १२ लगनमा शनिबार बिहान भएको आगलागीमा दुईवटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट एक जना घाइते भएका छन् भने एक जनाको अवस्था अज्ञात छ ।
शनिबार बिहान साढे ३ बजेतिर लगनचोकमा रहेका अमृत नारायण महर्जन र अमृतलाल रञ्जितको घरमा आगलागी भएको भएको प्रहरीले जनाएको छ ।
अमृतलाल रञ्जितको घर भाडामा लिएर जीवनकाजी श्रेष्ठको परिवार भाडामा बस्दै आएको थिए। ६५ वर्षिय जीवनकाजीको अवस्था अज्ञात छ । उनका छोरा प्रविण आगोमा जलेर सामान्य घाइते भएका छन् । उनलाई वीर अस्पतालमा उपचार गरिएको छ ।
घाइते प्रविणले प्रहरीलाई दिएको जानकारी अनुसार बुवा जीवनकाजीलाई बाहिर निकाल्ने प्रयास गरे पनि नसकेपछि उनी बाहिर निस्किएको बताएका छन् । आगलागी भएको स्थानमा खटिएका डिएसपी टेकुनन्द ईवा लिम्बुका अनुसार जीवनकाजीको अवस्था थाहा हुन सकेको छैन । जीवनकाजी प्यारालाईसिसको समस्याबाट पीडित रहेको बुझिएको लिम्बुले बताए ।
अहिले आगो नियन्त्रणमा आईसकेको छ । आगलागीको कारण खुलेको छैन । तर, घरभित्र बालेको हिटरबाट आगो सल्किएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।
आगो निभाउन काठमाडौं, ललितपुर र भक्तपुरका पाँचवटा दमकल प्रयोग गरिएको थियो । आगो निभाउन अग्नि नियन्त्रक टोलीसँगै प्रहरी र स्थानीयबासी खटिएका थिए ।
प्रतिक्रिया दिनुहोस्