काठमाडौं, ३ फागुन । आज विहीवार देशले नया प्रधानमन्त्री पाए सगै सात ओटै प्रदेशले मुख्यमन्त्री पाएको छ । प्रदेश ६ र ७ मा बिहीबार मुख्यमन्त्रीहरु नियुक्त भएसँगै देशका सातवटै प्रदेशले मुख्यमन्त्री पाएका छन् ।
प्रदेश १, २ र ५ मा बिहीबार नै मन्त्रिपरिषद विस्तार भएको छ । प्रदेश ३ मा यसअघि नै सरकार विस्तार भइसकेको छ भने ४, ६ र ७ नम्बर प्रदेशमा क्याबिनेट गठन हुन बाँकी छ ।
विहीबार प्रदेश ६ र ७ मा माओवादी केन्द्रका नेताहरु महेन्द्रबहादुर शाही र त्रिलोचन भट्ट मुख्यमन्त्री निर्वाचित भएसँगै सबै प्रदेशले मुख्यमन्त्री पाएको हो ।
संघीयतामा प्रवेशसँगै पहिलो मुख्यमन्त्री बन्ने भाग्यमानीहरुमा शेरधन राई, लालबाबु राउत, डोरमणि पौडेल, पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल, महेन्द्रबहादुर शाही र त्रिलोचन भट्ट छन् ।
प्रदेश १ मा शेरधन राई, प्रदेश २ मा लालबाबु राउत, प्रदेश ३ मा डोरमणि पौडेल र प्रदेश ४ मा पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री निर्वाचित भइसकेका छन् ।
प्रदेश २ का मुख्यमन्त्री संघीय समाजवादी फोरमका हुन् भने अरु ३ वटा प्रदेशका मुख्यमन्त्री एमालेबाट निर्वाचित भएका हुन् ।
प्रदेश १ मा पाँच सदस्यीय क्याबिनेट
केन्द्रीय सरकारमा सञ्चारमन्त्री भएका शेरधन राई एमालेका केन्द्रीय सचिव तथा प्रदेश कमिटी संयोजक भीम आचार्यलाई पराजित गर्दै प्रदेशसभामा संसदीय दलको नेता हुँदै मुख्य मन्त्रीको यात्रा तय गरेका हुन् ।
राई छोटो समयमै राजनीतिक यात्रामा सफल मानिएका व्यक्ति हुन् । भोजपुरको पसल भञ्ज्याङमा २०२७ सालमा जन्मिएका शेरधनले २०४४ मा अनेरास्ववियूबाट राजनीतिक यात्रा थालेका थिए । अखिलको जिल्ला अध्यक्ष र पूर्वाञ्चल संयोजक हुँदै पार्टी राजनीतिमा उनको प्रवेश भएको थियो । २०५६ सालको संसदीय निर्वाचनमा कान्छो सांसदका राई निर्वाचित भएका थिए । २०६४ सालमा चुनाव हारेका राई दोस्रो संविधानसभामा विजयी भए । केपी ओली नेतृत्वको सरकारमा सञ्चारमन्त्री तथा सरकारको प्रवक्ता बनेका उनी हाल एमाले वैकल्पिक पोलिटब्युरो सदस्यको रूपमा रहेका छन् ।
मुख्यमन्त्री शेरधन राईको सिफारिसमा एमालेका ३ र माओवादीका १ जना मन्त्री बनेका छन् । एमालेबाट हिक्मत कार्की गृह ९आन्तरिक मामिला तथा कानुन०, जीवन घिमिरे सामाजिक विकास र जगदीश कुसियत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् । त्यस्तै माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो अर्थ (आर्थिक मामिला तथा योजनां मन्त्री बनेका छन् ।
मुख्यमन्त्री शेरधन राई र चारै जना मन्त्रीलाई बिहीबार प्रदेश प्रमुख गोविन्द सुब्बाले पद तथा गोपनीयताको सपथ गराएका छन् ।
प्रदेश २ मा तीन सदस्यीय सरकार
प्रदेश २ मा मोहम्मद लालबाबु राउत गद्दी मुख्यमन्त्री बनेका छन् । संघीय समाजवादी फोरमका संसदीय दलका नेता रहेका उनी २०२३ सालमा पर्साको जगरनाथपुर गाउँपालिका – ४ जगरनाथपुरमा हुन् । राउत किसान परिवारबाट राजनीतिमा उदाएका नेता हुन् । दोस्रो संविधानसभामा समानुपातिक सभासद् बनेका उनी मुख्यमन्त्री बन्ने योजनाका साथ प्रदेशसभामा झरेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका राउतले कानुनमा स्नातक पनि गरेका छन् । पढाइपछि अस्थायी प्राध्यापकका रुपमा ठाकुरराम बहुमुखी क्याम्पसमा उनले १० वर्ष अध्यापन समेत गरेका थिए ।
मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल राजपाबाट एक एक जना मन्त्री नियुक्त भएका छन् ।
प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले विहीबार फोरमका विजय यादवलाई आर्थिक मामिला तथा योजना मन्त्री र राजपाका जितेन्द्र सोनललाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका हुन् ।
मु्ख्यमन्त्री राउत तथा मन्त्रीहरु यादव र सोनलले बिहीबार नै प्रदेश प्रमुख कायस्थबाट सपथ लिएका छन् । राउतले भोजपुरीमा, यादवले मैथिलीमा र सोनलले हिन्दीमा सपथ लिएका छन् ।
प्रदेश ३ मा तीन सदस्यीय सरकार
चुनावका बेला चारैतिरबाट अष्टलक्ष्मी शाक्यलाई मुख्य मन्त्रीमा हेरिएपनि यसलाई पल्टाउँदै पार्टी उपाध्यक्ष शाक्यलाई चुनाव हराएर मुख्यमन्त्रीको बागडोर सम्हाल्न लागेका डोरमणि पौडेल एमालेभित्र राम्रा नेता मानिन्छन् । पार्टीमा केन्द्रीय सदस्य नभएका पौडेल जनप्रतिनिधिका रुपमा सफल नेताको परिचय स्थापित गरेका छन् । पौडेल ०४९ र ०५४ मा गरी दुई पटक हेटौंडाको मेयर समेत बनेका थिए । २००२ साल चैतमा काठमाडौंको फर्पिङमा जन्मिएका पौडेल बसाइसराईंसँगै हेटौंडा नवलपुरका स्थायी बासिन्दा बनेका हुन् । ०३० सालदेखि नै शिक्षक संगठनबाट राजनीतिमा लागेका थिए । पञ्चायतकालमा जेलनेल र निर्वासनमा पनि परे ।
त्यहाँको ३ सदस्यीय मन्त्रिमण्डलमा एमालेका केशव स्थापित भौतिक पूर्वाधार मन्त्री छन् भने माओवादीका शालिकराम जमरकट्टेल आन्तरिक मामिला तथा कानून मन्त्री बनेका छन् ।
प्रदेश ४ मा सरकार विस्तार बाँकी
प्रदेश ४ मा एमाले नेता किरण गुरूङको नाम मुख्य मन्त्रीमा चर्चा रहेपनि अन्तिम समयमा आएर पृथ्वी सुब्बा गुरूङ ४ नम्बर प्रदेशका लागि सर्वसम्मत मुख्य मन्त्रीमा चयन हुँदै प्रदेश मुख्य मन्त्रीको यात्रा यत गरेका छन् । मुख्यमन्त्री बनेका एमाले सचिव पृथ्वी सुब्बा गुरुङ लमजुङका हुन् । अमृत साइन्स क्याम्पसबाट बीएस्सी गरेका उनी विद्यार्थी जीवनदेखि नै एमाले निकट थिए । २०२७ सालमा स्ववियू सचिव जितेका उनी जिल्ला सचिव हुँदै पार्टीको केन्द्रीय कमिटीमा आएका थिए । गुरूङ २०५४ सालदेखि एमाले केन्द्रीय कमिटीमा छन् । उनी हाल पार्टीको केन्द्रीय सचिव तथा संगठन विभाग प्रमुख पनि हुन् । २०६४ मा संविधानसभा सदस्यको चुनाव जितेका उनी २०७० मा पराजित भए । यसपटक प्रतिनिधिसभा सदस्यको दाबेदार थिए । तर, वाम तालमेलका क्रममा लमजुङमा देव गुरुङ उम्मेदवार हुने भएपछि उनी प्रदेशसभामा झरेका थिए ।
एमाले नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री चयन भइसकेका छन् । तर, उनलाई पारिवारिक शोकमा परेका कारण मुख्यमन्त्रीको सपथ र मन्त्रिमण्डल विस्तार हुन सकेको छैन ।
प्रदेश ५ मा तीन सदस्यीय सरकार
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेकपा एमाले र माओवादी केन्द्रबाट एकरएक जना मन्त्री समावेश गरी मन्त्रिपरिषद विस्तार गरेका छन् ।
एमालेभित्र प्रभावशाली मानिएका शंकर पोखरेल प्रदेश ५ को मुख्य मन्त्री बनेका छन् । अनेरास्ववियूका पूर्वअध्यक्ष पोखरेल पार्टीका पूर्वसचिव पनि हुन् । उनी नवौं महाधिवेशनमा उपमहासचिव उठेर पराजित भएका थिए । ओलीनिकट पोखरेललाई अध्ययनशील नेताका रुपमा लिइन्छ । प्रतिनिधिसभाको उम्मेदवार बन्ने योजना थिए तर वाम गठबन्धनमा कृष्णबहादुर महराले दाङकम को टिकट लिएपछि पोखरेल प्रदेशमा झरेका हुन् । उनलाई त्यसबेलै मुख्यमन्त्री बनाउने सहमति भएको थियो ।
प्रदेश प्रमुख उमाकान्त झाले माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी गृह (आन्तरिक मामिला तथा कानुन) र एमालेका बैजनाथ चौधरीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री नियुक्त गरेका छन् । मन्त्रीहरु केसी र चौधरीले प्रदेश प्रमुख झासमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् ।
प्रदेश ६ को मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही
पूर्वसभासद् महेन्द्रबहादुर शाही माओवादीबाट प्रदेश ६ को संसदीय दलको नेता चयन सगै प्रदेश नं ६को मुख्यमन्त्री बनेका छन् । वाम भागबण्डामा प्रदेश–६ को मुख्यमन्त्री माओवादीको भागमा परेपछि शाहीलाई थप सहज भयो ।
२०३३ माघमा कालीकोटको विकट हालको पचालझरना गाउँपालिकाको मध्यमवर्गीय परिवारमा जन्मिएका शाही माओवादी पोलिटब्युरो सदस्य तथा भेरी, कर्णाली राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष हुन् ।
सशस्त्र विद्रोहको क्रममा डिभिजन कमान्डर रहेका शाही अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्की्विरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता गराउँदा प्रस्तावक बनेर चर्चा कमाएका थिए ।
मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नियुक्त भएपछि । नेकपा एमाले र माओवादी केन्द्रका सांसदको समर्थन लिएर उनले प्रदेशप्रमुख दुर्गाकेशर खनालसमक्ष मुख्यमन्त्री दाबी गरेका थिए ।
बिहीबार एमाले संसदीय दलका नेता यामलाल कँडेलले शाहीलाई मुख्यमन्त्रीमा समर्थन गरेका थिए । शाहीको सपथग्रहण शुक्रबार हुनेछ ।
त्रिलोचन भट्ट प्रदेश ७ को मुख्यमन्त्री
माओवादी पोलिटब्यूरो सदस्य त्रिलोचन भट्ट प्रदेश ७ को मुख्यमन्त्री बनेका छन् । त्रिलोचन भट्ट डोटी प्रदेशसभा ‘क’ बाट विजयी सांसद हुन् । जिल्लाको केआईसिंह गाउँपालिका ६ फलेडीका भट्ट कक्षा ५ मा अध्ययन गर्दैगर्दा १४ वर्षको उमेरमा भारतमा मजदुरी गर्न पुगेका थिए । उनले त्यहाँ लामो समय चौकीदारी गरे । भारतमै छादा माओवादीको प्रवास संगठन अखिल भारत नेपाली एकता समाजमा आबद्ध भएका थिए ।
उनको राजनीतिक यात्रा पनि सोही समाजबाट शुरु भएको हो । र, ०६१ सालमा स्वदेश र्फकेर सक्रिय राजनीतिमा लागेका हुन् । प्रदेशसभामा टिकट पाएपछि चौकीदार बताउँदै विपक्षीले उनलाई मज्जाको पात्र समेत बनाएका थिए । तर उनले चुनाव जित्र्दै मुख्यमन्त्री समेत बन्ने मौका पाए ।
नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्ट विहीबार मुख्यमन्त्री नियुक्त गर्न एमाले र माओवादी केन्द्रका प्रदेश सांसदको समर्थनमा बुधबार भट्टले आफूलाई मुख्यमन्त्री बनाउन दाबी गरेका थिए । कुल ५३ सदस्यीय प्रदेशसभा रहेको प्रदेश ७ मा एमालेका २५ र माओवादी केन्द्रका १४ सांसद छन् । मुख्यमन्त्री भट्टको सपथ शनिबार हुनेछ ।
प्रतिक्रिया दिनुहोस्