काठमाडौं ७ माघ । कोसी प्रदेशको राजधानी विराटनगरमा शैलजा आचार्य हृदयरोग केन्द्र सञ्चालन हुने भएको छ । अस्पताल सञ्चालनको सबै तयारी पूरा भएको कोसी सरकारले जनाएको छ ।
कोसी सरकारले सञ्चालन गर्न लागेको उक्त अस्पतालको सोमबार बिहान उद्घाटन गरिने कार्यक्रम तय छ । प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत चालु आर्थिक वर्षका निमित ल्याएको बजेटमा उक्त अस्पताल सञ्चालनको घोषणा गरिएको थियो ।
अस्पताल सञ्चालनका निम्ति चिकित्सक, उपकरण, भौतिक संरचनालगायत व्यवस्थापनको तयारी पूरा भएको प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा। सुधा देवकोटाले जानकारी दिइन् ।
कोसीका मुख्यमन्त्री केदार कार्की, नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा। शेखर कोइरालालगायत व्यक्तिले आइतबार अस्पताल सञ्चालनको तयारीबारे स्थलगत निरीक्षण गरे । उनीहरूले अस्पतालसँगै रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाको समेत अनुगमन गरे ।
प्रतिक्रिया दिनुहोस्