काठमाडौं ७ माघ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार बहुआयामिक रूपमा असफल भएको बताएका छन् ।
आइतबार चितवनको भरतपुरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मुलुकका सबै अंगहरू फेल भइसकेको र सरकार पूर्णरूपमा असफल भएको बताएका हुन् ।
उनले वर्तमान सरकारबाट जनतामा नैराश्यता छाएको भन्दै एमाले हस्तक्षेपकारी भूमिका निर्वाहको लागि आन्दोलनमा जान लागेको बताए । उनले वर्तमान सरकारलाई जनताप्रतिको जवाफदेहिता र विश्वास नरहेको र सत्ता टिकाउन शक्ति केन्द्रहरूको भक्तिभाव गर्ने काममा लागिपरेको आरोप लगाए ।
भारतसँग हालै भएको सम्झौताले नेपाललाई दीर्घकालीन रूपमा असर पर्ने जिकिर गरे ।
ज्ञवालीले बचतकर्ताको पैसा हिनामिना गर्ने संचालकलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए । सहकारी पीडितहरूको पैसा सरकारले तिर्नुपर्छ भन्नु गैरजिम्मेवार कुरा भएको बताए ।
प्रतिक्रिया दिनुहोस्