काठमाडौं ३ माघ । इलामका उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको छ । केही क्षेत्रमा वर्षासँगै हिमपात भएको हो ।
जिल्लाका पर्यटकीयस्थल सन्दकपुर गाउँपालिका, माइजोगमाई गाउँपालिका, सूर्योदय नगरपालिका तथा देउमाई नगरपालिकाको माथिल्ला क्षेत्रमा मंगलबार साँझदेखि हिउँ पर्न थालेको हो ।
देउमाई नगरपालिकाको राँकेलगायत क्षेत्रमा हिउँ परेपछि सवारी साधन सञ्चालनमा समस्या भएको छ । हिमपातका कारण मेघमा, तुम्लिङ, टङ्लु, जौबारी, गैरीबास, फालुटक्षेत्रको जनजीवन प्रभावित भएको छ ।
बाक्लो हिमपातले घर बाहिरको काम गर्न समस्या भएको स्थानीय लाक्पा शेर्पाले बताए । यद्यपि, हिउँले सुक्खा जमिन चिसो हुँदा किसानलाई भने राहत भएको उनी बताउँछन् ।
पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, पाँचथरमा पनि मंगलबारदेखि हिमपात भएको छ ।
प्रतिक्रिया दिनुहोस्