रौतहट, २ फागुन । रौतहटको बृन्दावन नगरपालिकाको कार्यालय ५ सय मिटर टाढा हर्षाहा चोकमा सार्ने निर्णय भएपछि रौतहटमा झडप भएको छ । स्थानीयवासीले नगरपालिका कार्यालयमा ढुंगामुढा गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन २१ राण्ड अश्रुग्यास प्रहार गरेको छ ।
स्थानीयवासीले बुधबार विहानैबाट नगरपालिकाको कार्यालयमा ढुंगामुढा गरेका छन् । अश्रुग्यास प्रहार गर्दा समेत स्थानीयवासीले ढुंगामुढा गर्न नछाडेपछि प्रहरीले लाठी चार्ज समेत गरेको छ ।
झडपमा परी स्थानीय र सुरक्षाकर्मीहरु तर्फ एक दर्जन भन्दा बढी घाइते भएको भनिएपनि संख्या एकिन भएको छैन । अश्रुग्यासले एक जना बालक गम्भीर भएको बताइएको छ ।
स्थिति तनावपूर्ण बन्दै गएपछि जिल्लाका अन्य युनिटहरुबाट प्रहरी र सशस्त्र प्रहरीलाई त्यहाँ पठाइएको रौतहटका एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।
एसपी पोखरेलले स्थानीयवासीहरुले विश्राम्पुरबाट कुनैपनि अवस्थामा कार्यालय सार्न नदिने अडान राखेर कार्यालयमा ढुंगामुढा गर्न नछोडेपछि अश्रुग्यास प्रहार गरेको बताए ।
स्थानीयवासीले नगरपालिकाको कार्यालयको कम्पाउण्डका ढोका फुटालेर कम्पाउण्ड भित्र प्रवेश गरेका छन् ।
नेपाल सरकारको नीतिअनुसार नगरअधिवेशन पछिको पहिलो बैठकबाट मेयर सहितका पदाधिकारीहरुले विश्राम्पुरबाट नजिकै रहेको गौर चन्द्रनिगाहपुर सड्कखण्डमा पर्ने हर्षाहा चोकमा नगरपालिकाको कार्यालय सार्ने निर्णय गर्न लाग्दा स्थानीयवासी आक्रोशित भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्