काठमाडौं २२ पौष । राष्ट्रिय मानव अधिकार आयोगले सर्लाहीको बरहथवामा जयशंकर साहको मृत्यु भएको घटनाको अनुगमन थालेको छ । आयोगले वार्ता र संवादकै माध्यमबाट समस्याको समाधान खोज्नसमेत सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
सर्लाहीको बरहथवामा स्वास्थ केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शन र विवादका क्रममा जयशंकर साहको मृत्यु भएको भएको थियो । घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको आयोजले जनाएको छ ।
घटनाको आयोगको जनकपुरस्थित मधेस प्रदेश कार्यालयले अनुगमन गरिरहेको छ ।
मृतकका परिवार तथा सर्वसाधारणबाट न्यायको माग गर्दै प्रदर्शन गर्ने क्रम जारी रहेको छ । शान्ति सुरक्षाको स्थितिलाई खलबलिन नदिन स्थानीय प्रशासनले बरहथवा क्षेत्रमा पटकपटक कर्फ्यू आदेश जारी गर्दै आएको छ ।
“मृतकको शव अझै पनि सडकमै रहेको आयोगको प्रारम्भिक अनुगमनबाट पाइएको छ । घटनाको अनुगमनका लागि आयोगको टोली घटनास्थलमै रहेको छ,” आयोगद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाल सरकारले समेत सो विषयमा अनुसन्धान गर्न अनुसन्धान टोली गठन गरेको जानकारी प्राप्त भएको आयोगले बताएको छ ।
“उक्त घटनाको निष्पक्ष र स्वतन्त्ररूपमा अनुसन्धान गरी घटनाका दोषीलाई कानुनी कारबाहीको दायरमा ल्याउन, मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न, भविष्यमा यसप्रकारका घटना नदोहोरिने सुनिश्चितता गर्न र संयमता अपनाई शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन आयोग नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहलाई आग्रह गर्दछ,” आयोगले भनेको छ ।








प्रतिक्रिया दिनुहोस्