काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य गगन थापाले विधेयकमा अपेक्षित काम हुन नसकेको बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा उनले कम्तीमा महिनाको एक दिन बैठक बस्नु पर्नेमा जोड दिए ।
“मैले पहिलो बैठकमा समिति बैठकको नियमितता खोज्न समसामयिक विषयमा महिनाको एउटा बार छुट्याउँ भनेको थिएँ,” गगनले भने, “तर त्यसो हुन सकेन । अब त्यसै गरौँ । विधेयक बढेर आउँदा लगातार एक हप्ता विधेयकमा काम गरौँ । अनि मात्रै विधेयकको काम समयमा सम्पन्न हुन्छ ।”
सेना प्रमुख हुने बेलामा उमेरलाई लिएर पटक–पटक प्रश्न उठ्ने गरेको भन्दै गगनले यस विषयमा उपसमिति बनाएर सधैँका लागि यो समस्या समाधान हुनेगरी काम गर्नु पर्नेमा जोड दिए ।
“एनसेल प्रकरणमा म दाबी गर्छु यो रातारात भएको हैन । यसमा राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ र भरथेग नभइ यो भएको छैन,” उनले भने, “यो सार्वजनिक भएपछि लेखा र अर्थ समितिमा छलफल भएको छ । यो हाम्रो समितिमा पनि पर्छ भन्ने आधार छ । सरकारले नै मन्त्रालय हैन समिति बनाएर हेर्छु भनेपछि त्यसमा मूल्यांकन र हेर्ने काम हाम्रो समितिमा आयो ।”
जतिसुकै प्रभावशाली भएर कसैले ढाकछोप गर्न खोजे पनि त्यसमा समितिले निष्पक्ष काम गर्नुपर्नेमा उनले बताए ।








प्रतिक्रिया दिनुहोस्