काठमाडौं, २१ कात्तिक । जाजरकोट रामीडाँडा । भूकम्पको केन्द्रविन्दु जाजरकोटको बारेकोट गाउँपालिका(१ रामीडाँडा सिर्पाचौर बस्तीकी ७६ वर्षीया बिर्मी घर्ती भूकम्प आउँदा घरमा सुतिरहेकी थिइन् ।
एक्कासी घर हल्लिन थालेपछि हतपत्त उठेर आफ्नो श्रीमान भीम बहादुर घर्ती ९७८० लाई उठाइन् । आँखा नदेख्ने उनी श्रीमानको सहारामा भागेर ज्यान जोगाउन सफल भइन् । ‘अलिकती बाहिर के आएको थिएँ, गर्ल्याम्म घर ढलेको आवाज आयो । छोरा(बुहारीलाई आवाज दिएँ, सबै भागेर बाँच्न सफल भए,’ भूकम्प गएको रात सम्झिंदै उनी भन्छिन् ।
पालिकामै थुप्रियो राहत, खुला आकाशमुनि रात काट्छन् पीडित
शुकबार गएको भूकम्पले घर ढलेको आज चार दिन भयो । घर भत्किएपछि उनको ९ जनाको परिवार घर नजिकैको प्रतिक्षालयमा बसेको छ । त्रिपाल नभएकै कारण प्रतिक्षालयमा बसेको बिर्मीले बताइन् । ‘पाल पनि छैन, पाल किन्ने पैसा पनि छैन । पाल हुनेहरु खुल्ला चौरमा पाल हालेर बसेका छन्, हामी केही उपाय नलागेपछि यही चौतारोमा बसेका हौं,’ अनलाइनखबरसँग कुरा गर्दै बिर्मीले भनिन्, ‘अहिले पनि भूकम्प गइरहेको छ । यही चौतारो पनि भत्किन्छ कि भन्ने डर लाग्छ ।’
घर भत्किएपछि लत्ताकपडा र खाद्यान्न पुरिएको छ । चिसो भुइँमा रात बिताइरहेका उनीहरु अहिलेसम्म एउटा त्रिपाल समेत नपाएको बताउँछन् । भूकम्पले घर ढलेपछि चिसो रात बिताउनु त छँदैछ, त्यसमा पनि खाने कुराको अभाव छ । ‘गाउँलेले दिएको घोगा मकैको पिठो र जंगलबाट सिस्नु ल्याएर हिजो दिउँसो खायौं । त्यो पनि सकियो । हिजोको रात भोकै सुत्यौं । आज के खाने हो थाहा छैन,’ भीम बहादुर भन्छन् ।
प्रतिक्रिया दिनुहोस्