काठमाडौं, १९ कात्तिक । जाजरकोटमा फेरि ४ म्याग्निच्युडमाथिको भूकम्पको धक्का मापन गरिएको छ । आइतबार दिउँसो २ बजेर २४ मिनेटमा रामीडाँडा आसपास केन्द्रविन्दु भएको ४।१ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि, आइतबारै बिहान १ बजेर २२ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४ म्याग्निच्युडको धक्का मापन गरिएको थियो । आजै बिहान ४ बजेर ५३ मिनेटमा जाजरकोटमै ३।८ म्याग्निच्युडको धक्का मापन गरिएको केन्द्रले जानकारी गराएको छ ।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६।४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पका कारण भौतिक संरचना भत्कँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।
त्यसयता चार म्याग्निच्युडदेखि माथिका सात परकम्प मापन गरिएको केन्द्रले जनाएको छ । यीमध्ये ‘ठूलो’ परकम्प शनिबार बिहान ४ बजेर १६ मिनेटमा रामीडाँडा आसपासै केन्द्रविन्दु भएको ४।६ म्याग्निच्युडको धक्का थियो ।
केन्द्रका अनुसार ६।४ म्याग्निच्युडको भूकम्पपछि शुक्रबारै राति १२ बजेर ८ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४।५, सोही राति १२ बजेर २९ मिनेटमा जाजरकोटमै ४।२, शुक्रबारै राति १२ बजेर ३५ मिनेटमा जाजरकोटमै ४।३ म्याग्निच्युडको परकम्प मापन गरिएको थियो ।
यस्तै, जाजरकोटमै शनिबार बिहान ४ बजेर १६ मिनेटमा ४।६, शनिबारै दिउँसो ३ बजेर ४० मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४।२, आइतबार बिहान १ बजेर २२ मिनेटमा जाजरकोटमै ४।० र आइतबारै दिउँसो २ बजेर २४ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४।१ म्याग्निच्युडको परकम्प मापन गरिएको केन्द्रले जनाएको छ ।
शुक्रबार रातिको ६।४ म्याग्निच्युडको भूकम्पपछि जाजरकोटमा अहिलेसम्म ३११ भन्दा बढी परकम्प मापन भइसकेको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्