ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

के होला रिगलविरुद्धको फैसला ? राष्ट्रपतिबाट कैद माफी पाएर छुटेका फेरि अपराध कर्ममै


एबीसी न्यूज

काठमाडौं, १६ कात्तिक । चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय भोगिरहेका रिगल भनिने योगराज ढकाल संविधान दिवसका दिन गत असोज ३ मा जेल मुक्त भए । उनी अदालतले तोकेबमोजिमको सजाय काटेर जेल मुक्त भएका थिएनन् ।

हत्यारा प्रमाणित रिगल डन राजनीतिक शक्तिको पहुँचमा संविधान दिवसका दिन सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाउँदै जेल मुक्त भएका हुन् । जेल पर्नुअघि बाँके तरुण दलका क्षेत्रीय सभापतिसमेत रहेका रिगल गुण्डागर्दीको दुनियाँमा चर्चित नाम हो ।

राजनीतिको त्यही फेरो समातेका रिगललाई माफी दिन सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्‍यो । संविधान दिवसका दिन माफी उनले माफी पाए ।

तर, जेल मुक्त हुँदा राजनीतिक आस्थाका बन्दी जसरी फूलमालासहित कारागारबाट घर फर्किए, त्यो आमआलोचनाको विषय बन्यो । आलोचना मात्रै होइन, जघन्य अपराधीलाई त्यसरी कैद सजाय माफी दिने सरकारी सिफारिस अनुमोदन कारण राष्ट्रपति पौडेलसमेत आलोचित बन्न पुगे ।

रिगललाई त्यसरी कैद मिनाहा गरी रिहाइ गरेपछि चेतन मानन्धरकी श्रीमती अदालतसँग न्याय माग्दै मुद्दा दर्ता गराएकी छिन् । रिगलको आममाफी बदरको माग राख्दै २२ असोजमा सर्वोच्च पुगेकी भारतीले दर्ता गराएको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ निरन्तर छ ।

२८ असार २०७२ मा नेपालगञ्जमा चेतन मानन्धरलाई रिगलसहितको समूहले खुकुरी प्रहार गरी हत्या गरेको थियो । त्यही अभियोगमा बाँके जिल्ला अदालतले रिगललाई २०७५ मा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

उनी उक्त सजायको ५० प्रतिशत नै जेल नबसी माफी पाएर जेल मुक्त भएका हुन् । यसरी संविधान दिवसको अवसरमा कैद मिनाहा पाउने उनी एक्ला भने होइनन् । रिगल जस्तै ६७० जनाले कैद सजाय छुट पाएका थिए । तर, विवाद हुँदै अदालती प्रक्रियामा पुगेको भने रिगलविरुद्ध मात्रै हो ।

माफी पाएकाहरुबाटै जघन्य अपराध

कैदीको आचरण सुधार दाबीसहित सरकारी सिफारिसमा राष्ट्रपतिबाट माफी पाउँदै छुटेकाहरु फेरि अपराध कर्ममा फर्किन थालेका छन् । गत जेठमा गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेलले आममाफी दिएपछि कैद मुक्त भएका चितवनका ५५ वर्षीय रामचन्द्र थापा पुनः पक्राउ परेका छन् ।

भरतपुर महानगरपालिका–१ का एक क्लिनिक सञ्चालकलाई अपहरण गरी ज्यान मार्ने धम्की दिँदै २५ लाख रुपैयाँ फिरौतीमा माग गरेको आरोपमा पक्राउ परेका हुन् । सोमबार पक्राउ परेका थापालाई चितवन प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । २०७५ मा डाँका मुद्दामा दोषी ठहर हुँदै नौ वर्ष कैद सजाय तोकिएका थापा आममाफीपछि साढे चार वर्षमै छुटेका थिए ।

थापाबाहेक यसअघि ३ असोजको संविधान दिवसको दिन कैद सजाय माफी पाएर छुटेका रुकुम पश्चिम सानीभेरी गाउँपालिका–९ का ३३ वर्षीय लोकबहादुर विक हत्या अभियोगमा फेरि पक्राउ परिसकेका छन् ।

२७ असोजमा रुकुम पश्चिम मुसिकोटकी २८ वर्षीया भावना विकको हत्या आरोपमा उनी पक्राउ परेका हुन् । हाल प्रहरी थुनामै रहेका विकमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ । ०७६ मा बहुविवाह मुद्दामा दोषी ठहर गर्दै अदालतले उनलाई एक वर्ष कैद सजायको फैसला सुनाएको थियो । अदालतको तोकेको सजाय नकाटी राष्ट्रपतिबाट कैद माफी पाउँदै उनी छुटेका हुन् ।

कानुनी व्यवस्थाको दुरुपयोग

मुलुकी फौजदारी कार्यविधि कसुर संहिता २०७४ को धारा १५९ मा सजाय माफी दिन सकिने व्यवस्था छ । उक्त दफाको उपधारा ७ अनुसार, सरकारले कैद माफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्न सक्ने उल्लेख छ ।

फौजदारी कसुर ऐनको दफा ३७ अनुसार पनि कैदमा रहँदा चालचलनमा सुधार आएमा र निजले ५० प्रतिशत कैद सजाय भुक्तान गरेमा कैद कट्टा गर्न सकिने व्यवस्था छ ।

त्यही व्यवस्था अनुसार, हाल सरकारको सिफारिसमा राष्ट्रपतिले कैद सजाय छूट दिँदै आएका छन् । तर, राजनीतिक पहुँच र आर्थिक चलखेलका आधारमा कारागार व्यवस्था विभागबाट छुटका निम्ति सिफारिस भएको आशंका छ ।

प्रहरी पूर्व नायव महानिरीक्षक डीआईजी हेमन्त मल्लले पहुँचका भरमा सजाय माफी पाउनेहरुको मनोबल बढ्ने र उनीहरु पुनः अपराध कर्ममा फर्किने बताउँछन् । उनी भन्छन्, “यसरी शक्तिको भरमा कैद सजाय छुट पाउनेहरु कारागार रहँदा पनि अन्य कैदीभन्दा राम्रै तरिकाले बसेका हुन्छन् । त्यसमाथि कैद छुट पाएपछि झन् उनीहरुको मनोबल बढ्छ ।”

यसरी कैद छुट पाएकाहरु फेरि अपराध कर्ममा लाग्नु सुरक्षाका दृष्टिले झन् जोखिम हुने उनको भनाइ छ । पूर्व गृहसचिव गोविन्द कुसुमले भने अपराध कसुरमा दोषी ठहर भएर कैद सजाय भोगिरहेकालाई आफूले गरेको अपराधबारे हिनताबोध गराउनु आवश्यक रहेको बताउँछन् ।

“जबसम्म कैदीहरुलाई आफूले गरेको अपराधबारे हिनताबोध हुँदैन, तबसम्म उनीहरुमा बदलाको भाव रहिरहन्छ । उनीहरु जेल सजाय काटेर बाहिर आएपनि वा माफी पाएर आए पनि अपराध कर्ममा फर्किने अवस्था उतै रहन्छ,” कुसुम भन्छन् ।

अपराधीहरुलाई जेलभित्र नैतिक शिक्षा र अध्यात्म आवश्यक रहेको उनको तर्क छ । उनको भनाइ छ, ‘‘सजाय माफीको विषयमा समेत मनोवैज्ञानिक मूल्यांकन आवश्यक हुन्छ ।’’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com