काठमाडौं, १४ कात्तिक । मुगुको छायानाथ रारा नगरपालिका–६, मन्दुका एकै परिवारका चारजनाको हत्या प्रकरणमा प्रहरीको केन्द्रीय अनुुसन्धान ब्युरो सीआईबीले चासो दिएको छ ।
मुन्दुका दीपक बोहराकी श्रीमती २८ वर्षीया श्रीदेवी, ११ वर्षीय छोरा मनोज, नौ वर्षीया छोरी अप्सरा र आठ महिने छोरा रहरको शव १० कात्तिकमा फेला परेको थियो ।
उनीहरुको शव फेला परेको करिब एक हप्ता बित्न लाग्दासमेत आरोपी पक्राउ नपरेपछि सीआईबीलेसमेत चासो दिएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानले उनीहरुको ८ कात्तिकमै हत्या भएको खुलेको छ ।
सीआईबीका एसएसपी दिनेश आचार्यका अनुसार घटनाको विषयमा अन्तरिक सूचना संकलनको काम भइरहेको छ ।
“हामीलाई अहिलेसम्म मुगु जाने भनेर निर्देशन भएको छैन । तर, हामीले आफ्नो हिसाबले घटनाबारे बुझ्ने काम गरिरहेका छौँ । आवश्यक परे जान हामी तयारी अवस्थामा छौँ,” एसएसपी आचार्यले भने ।
प्रहरीको अनुसन्धानले उनीहरुको धारिलो हतियार प्रयोग गरेर हत्या गरेको खुलाएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी वीरेन्द्र थापाका अनुसार अनुसन्धान अझै जारी छ ।
केही शंकास्पद व्यक्तिलाई भने नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले मृतक श्रीदेवीले लगाएको गरगहनासमेत नभेटिएपछि हत्या लुटपाटको उद्देश्यले गरेको आशंका गरेको छ । श्रीदेवीले चलाउँदै आएको मोबाइल फोन समेत ‘हत्यारा’ले लिएको प्रहरीले दाबी गरेको छ ।
श्रीदेवी छोराछोरीसहित कात्तिक ७ गते बडादसैँको टीका थाप्न छायानाथ रारा–६, कोटिल्लास्थित माइतीघर पुगेकी थिइन् । उनीहरू दसैँको दिन टीका लगाएर त्यहीँ बसे । कात्तिक ८ गते आफ्नो घर फर्किएका थिए । सोही राति उनीहरुको हत्या भएको हो ।
उनीहरुको हत्यापछि मृतकको मोबाइलबाट श्रीमान दिपकको म्यासेन्जरमा फोटो पठाइएको खुलेको छ ।
प्रतिक्रिया दिनुहोस्