काठमाडौ १६ असोज । सुदूरपश्चिम प्रदेशको बझाङलाई केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पले थलारा गाउँपालिका–९ को सिरेटा, फकाली, खानी, अफ्ला, चित्रु, मालुमेला, चैनपुर, छविसपाथिभेरा लगायतका ठाउँमा दर्जनभन्दा बढी घर भत्किएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । भूकम्ले तलकोट गाउँपालिकामा क्षति पुर्याएको छ ।
‘गाउँपालिका कार्यालय अगाडिकै जमिन चिरा परेको छ’, गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवर भण्डारीले भनिन्, ‘१ नम्बरको सुनिकोटको वडा कार्यालय भवन नै ध्वस्त भयो भन्ने खबर छ ।’जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक भरत शाहका अनुसार भूकम्पले पहिरो आउँदा जय पृथ्वी राजमार्ग समेत अवरुद्ध भएको छ ।भूकम्पको कारण छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
सत्यवादी मावि भाेपुरका चार विद्यार्थीसहित पाँच जना र केदारस्युँ गाउँपालिकाका एक जना गरी छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिपेश चाैधरिले जानकारी दिए । घाइतेहरूकाे जिल्ला अस्पतालमा उपचार भइरहेकाे छ ।
भूकम्पका कारण पहिराे गएपछि जयपृथ्वी राजमार्ग अवरुद्ध भएकाे प्रहरीले जनाएकाे छ । राजमार्गका ठाउँठाउँमा पहिराे जाँदा गाडी आवतजावत राेकिएकाे छ । भूकम्पकाे विस्तृत विवरण आउन बाँकी छ ।
जिल्ला प्रहरी कार्यालयको भवन चर्किएको र तालकोट गाउँपालिकाको गाडीमा समेत क्षति भएको शाहले बताए ।










प्रतिक्रिया दिनुहोस्