काठमाडौं, २६ भदौ । प्रतिनिधिसभाले संविधानसभा अध्यक्ष तथा सांसद सुवासचन्द्र नेम्वाङप्रति बिहीबार शोक व्यक्त गर्ने भएको छ । प्रतिनिधिसभाको बुधबारका लागि तय बैठक स्थगित गरी बिहीबार नेम्वाङप्रति शोक व्यक्त गर्न बोलाइएको छ ।
सभामुख देवराज घिमिरेको निर्देशनमा संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले मंगलबार विज्ञप्ति जारी गर्दै बुधबारको बैठक स्थगितबारे सूचना जारी गरेका हुन् ।
संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको असामयिक निधन भएको कारण भदौ २७ गते १ बजे बस्ने गरी तय भएको प्रतिनिधिसभाको बैठक उक्त मिति र समयमा बस्न नसक्ने भएको, सूचनामा भनिएको छ, शोक प्रस्ताव प्रयोजनको लागि सभाको बैठक भदौ २८ गते बिहीबार दिनको ३ बजे बस्ने गरी निर्धारण गर्नुभएको छ । नेम्वाङको मंगलबार बिहान निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्