सपना थामी ‘आल्माङ’
काठमाडौं, भदौ १९ गते ।
‘आवाजविहिनको आवाज’, स्वच्छ, निष्पक्ष, समाचार’, ‘तपाइको आफ्नै सञ्चार’ आदि इत्यादी..विभिन्न सञ्चार माध्यममा निरन्तर ट्युनिङ हुने ‘स्लोगान’ मा साधारणतया आममानसमा एक प्रकारको आकर्षण रहने गरको छ । उदाहरणका लागि ‘साथीसँग मनका कुरा’ जस्ता कार्यक्रमले युवापुस्ता या भनौं धार्मिक कार्यक्रममा वृद्धवृद्धाको स्वभाविक रुपमा आकर्षण गएजस्तै ।
सञ्चारमाध्यमप्रतिको जनविश्वास ः
मिडियाको गुणस्तरीय उत्पादन, आकर्षक शैली, प्रस्तुती, सिर्जनशीलता अनेकन आयामबाट एकआपसमा जोडिने मात्रै होइन, आममानिस जो सञ्चारमाध्यमप्रति विश्वास, भरोसा गर्छन् । जसका परिवार वा सन्तान मिडियालाई कर्मथलो बनाउन निसंकुच तल्लीन छन् । यो तप्काको जनसमुदायको सोच एवम् वैचारिक रुपान्तरणमा धेरथोर भूमिका सञ्चार माध्यमले खेलेको छ । दुर्गम, राजधानीभन्दा सुदूर क्षेत्रका समुदाय जसले यस क्षेत्रको सेतो र कालो पक्ष थाहा पाएका छैनन् वा जानकारी भएर पनि फरक छुट्याउन सक्दैनन् उनीहरु आज पनि मिडियामा घन्कने आवाजलाई ढुंगाको अक्षर सरह विश्वास गर्ने गरेको पाइन्छ पनि । यस हिसाबमा यसले मिडियालाई थप स्वच्छ, निष्पक्ष, जवाफदेही , जिम्मेवार बनाउन प्रेरणा पुगेको हुनुपर्छ ।
सूचनाको असर ः
पछिल्लो समय चिनियाँ अध्ययन केन्द्रका एक पदाधिकारीसँग कुराकानी गर्ने शिलशिलामा मिडियाबारे छोटो कुराकानीको सौभाग्य जु¥यो । उहाँले एउटा प्रसंगमा भन्नुभयो, “एउटा सूचनाको प्रभाव सोच्ने, विचार गर्ने शैली, चिन्तन र योजनामा समेत पर्छ ।” आग्रह, पूर्वाग्रह राखिएको सूचनाले कालान्तरमा परिणाम दीगो फलदायी नदिने उहाँको भनाइको सार थियो ।
चीनलाई केही समय कर्मथलो समेत बनाउनुभएको उहाँप्रति थप जिज्ञासा राख्दै प्रश्न भयो कि चिनियाँ समाजमा अनुशासनको महत्व धेरै हुनुका पछाडि तपाइको व्यक्तिगत दृष्टिकोण के छ ? उहाँले भन्नुभयो, “उनीहरु कसैको मौखिक भनाइलाई विश्वास गर्दैनन् । कसैले कुनै कुराको पक्षमा बोल्यो भने र त्यसमा समर्थन नै जनाए पनि विश्वास भने गर्दैनन् रे । तपाइले भन्नुभएको ठीक हो तर, यसलाई विश्वास गर्ने वैज्ञानिक आधार के हो त ?” भन्ने आधार नभइ मौखिक विषय मूल नभएको उहाँले बताउनुभयो ।
उहाँको आफ्नै व्यक्तिगत बानी पनि मोबाइलमा धेरै कुरा गर्नेभन्दा मेसेज गर्न रुचाउने खालको रहेछ । यसबाट थोरै बुझ्न सहज भयो कि, उहाँ आफैं पनि सूचनाप्रति कति संवेदनशील हुनुहुन्छ भनेर ।
दर्दनाक समाज र समाचार ः
एकैछिन पछिल्लो समय यही राजधानी वरपरको घटनालाई हेरौं । सोमबारको घटना हो, देशको जेठो अस्पताल वीर अस्पतालबाट ४० वर्षका एक पुरुषले बिहान करिब २, ३ बजेको समयमा छैटौं तलाबाट हाम फालेर आत्महत्या गरें । उनको गोजीमा ५ रुपियाँको नोट र एउटा चुरोट भेटिएको कुरा मिडियामै बाहिर आयो । पछिल्लो विवरण अनुसार उनी न त्यस अस्पतालका बिरामी वा कुरुवा कोही पनि थिएनन्, त्यो वेबारिशे शव लिन कोही पनि नआएको सूचना थियो ।
केही महिना अगाडि संसद भवन अगाडि ३७ वर्षिय प्रेसप्रसाद आचार्यले आफैंलाई जलाएर देह त्याग गरे । समाजको अराजकता, पीडा, असमानता, असफलता, नैराश्यता यो उत्कर्समा आएर बाहिरै पोखिएका यस्ता दर्दनाक दुर्घटनाले देखे पनि नदेखे जस्तो गर्नेको मनमा के बिज्छ कुन्नी ? तर, जो यही देशमा केही गर्न चाहन्छ, जसको मस्तिष्क उर्वर, कलिलो छ, त्यस्तो विवेकलाई भने प्रत्यक्ष, अप्रत्यक्षरुपमा निरुत्साहन थपेको छ । खैर, यसबीचमा प्रेमप्रसाद जस्ताको दुर्घटनापछि पक्ष, विपक्षमा बौद्धिकता प्रदर्शन गर्ने, कुन तप्काको, कुन तहको भनेर विभाजन गर्ने प्रशस्त अधिकार विश्लेषक र मिडियालाई छ । सामान्यतया नेपाली आम नागरिकको परिवार, समाज र यसभन्दा माथि उठेर परिवर्तनको वकालत गर्नेहरुको कथा पनि यो भन्दा धेरै पर वा बेग्लै भने छैन ।
देश बनाउने कुरा ः
वरिष्ठ पत्रकार तथा लेखक बेला बखत बहस गर्छन् नेपाल किन बनेन् ? उद्योग, धन्दा फस्टाएन । बुद्धिजीवि भन्छन् नेताहरु गफ मात्रै गर्छन्, मिडिया विश्लेषण गर्छ – राजनीतिक दलका नेता आचरणहिन, आशाविहिन नेतृत्वविहिन भए । जिन्दगीभर कराएर निराश बनेका बुद्धिजीवि मिडियासँग तर्केको अवस्था छ । जसलाई जे भन्दा पनि भयो भने स्तरमा सञ्चारकर्मीबीच गफ हुन्छ । वकालत गर्ने क्षेत्र भएकोले गफ गर्नु नराम्रो होइन तर त्यो गफ संस्थागत र जिम्मेवारी बोधसहितको हुँदा यसले जो कोहीको मूल्य अझ उँचो बनाउँछ होला । यसतर्फ मिडियाले मम भन्दै समिक्षा गर्न जरुरी छ । यो नभुलेकै अझ राम्रो होला कि, मिडियालाई उन्नत, चेतनशील वर्ग ठान्ने जमात्् पनि यही देशभित्र नै छ ।
दलभित्र अटाएका र नअटाएका पत्रकारबीच के फरक छन्, हुन्छन् ?
राजनीतिक दल भन्छ, प्रेस स्वतन्त्रता लोकतन्त्रमा एउटा खम्बा हो । मसिनो गरी नकेलाइकन सरसर्तीभन्दा दलभित्र अटाएका र नअटाएका वा अटाउन बेवास्तामा परेका पत्रकारबीच के फरक छन्, हुन्छन् ? लोकतन्त्रमा चौथो अंगले यसको जति निर्मम समिक्षा गर्न सके भावी दिनमा यो बाटो साँघुरो हुनबाट जोगिएला । वाक स्वतन्त्रता, मानव अधिकार, समाज रुपान्तरण, स्वतन्त्रताका लागि जीवनपर्यन्त संघर्ष गर्ने राजनीतक योद्धा र यसकै लागि कलम चलाउने योद्धाबीच कही कतै समन्वय त आवश्यक हुने भएपनि यसको तारतम्य मिलेको छैन । राजनीतिक नेतृत्व र मिडियाबीच एकअर्काले हेर्ने दृष्टिकोण सकारात्मक बनाउन सञ्चार माध्यमले भूमिका खेल्न सक्नुपर्छ । एकअर्काबीच वाकयुद्धभन्दा पनि समन्व्य, साझेदारी, जिम्मेवारीपनले आगामी पिँढीमा ऊर्जा थप्न मद्दत पुग्नेछ । अहिले नयाँ पिँढीमा राजनीतिक र मिडियाप्रति वितृष्णाको भाव देखिन्छ । एक–एक मिलेर दुई र दुई–दुई मिलेर चार बनाउने कुरालाई आत्मसात् गर्न सक्नुपर्छ ।
समाज क्यामराले देखेजस्तै छ ?
सम्पादक, संवाददाता, क्यामरा वा क्यामराम्यानको आँखाले देखे जति मात्र आजको देश हो ? या यो भन्दा अझ बृहत छ ? गाउँ, ठाउँका बाहिर आउन नसकेका विषय हामीले पस्कन सकेका छौं वा बिहान बेलुकाको नित्यकर्म मात्रै पुरा गर्दैछौं ?
किसानको कार्यक्रममा क्यामराको आँखा प्रमुख अतिथिमा मात्रै गएजस्तै सिमिततामा हामी बाँधिदै त छैनौं ? देश, समाजका बृहंगम विषयलाई गहिरोसँग केलाएर निरक्षर नागरिकले पनि बुझ्ने गरी सरल र सहज भाषामा समाचार पस्कने फुर्सद कति मिडियाकर्मीलाई छ होला ? अनि अघि सुरुमा चिनियाँ अध्ययन केन्द्रका पदाधिकारी ज्युले भन्नु भएजस्तै अधुरो र अपुरो सूचनाले पाठक, दर्शकबृन्द र श्रोतामा पर्न सक्ने असरप्रति गम्भिररुपमा को जिम्मेवार बन्ने ?
गाउँ, शहर र दुनियाँ ब्युँझाउने अभियानका साथ सुरुवात भइ १६ वर्षको शुभारम्भ भएकोेमा एबीसी टेलिभिजनलाई हार्दिक बधाई व्यक्त गर्दछु् । जमिन अर्थात् भुइँ परिवर्तन गर्ने स्लोगान यस टेलिभिजनले निरन्तर बोक्ने गरेको छ, सो अनुरुपको यात्रामा सदैव सफलता मिलोस् शुभकामना छ ।
सञ्चार क्षेत्रमा रेडियो हुँदै एबीसी टेलिभिजनसँग टिभी पत्रकारिताको अनुभव रहेकोले अब मुख बन्द गरेर विवेक र कर्म अघि बढाउन ढिला भइसकेको जस्तो लाग्छ आफैंलाई पनि ।
व्यवसायिक पत्रकारितालाई थप सफलताको शिखरमा पु¥याउन जुनसुकै सञ्चार गृहले श्रमजीविको पक्षमा काम गर्ने वातारणको निर्माण गर्न जरुरी छ । हजार माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ भन्ने कुरा मनन् गर्नुपर्दछ भन्ने लाग्छ ।
प्रतिक्रिया दिनुहोस्