ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टेलिभिजनको इतिहास र एबीसी टेलिभिजन


कविराज वि.सी.

सन् १९३० को दशकमा प्रसारण सुरु भएको टेलिभिजन प्रविधि यतिबेला सशक्त सञ्चारमाध्यमका रुपमा विकास भएको छ । आर्थिक तथा सामाजिक विषयवस्तुलाई उठान गर्नसक्ने माध्यमका रुपमा टेलिभिजनलाई स्वीकार गरिएको छ । टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रसारण गरेको पाईन्छ । टेलिभिजन च्यानलहरुको स्थापनको संख्या मात्र होईन पछिल्लो समय सर्वसाधारणमा विश्वास समेत बढ्दै गएको छ । सन् १९५४ देखि रंगीन टेलिभिजनको विकास भई रंगीन दृश्य हेर्न सकिने अवस्था आएको थियो । नेपालमा धेरै पछि मात्र टेलिभिजन प्रशारणको सुरुवात भएको हो ।

वि.सं. २०४१ मा नेपाल टेलिभिजनको स्थापना भएपछि नेपालमा पनि टेलिभिजनहरुले फूल्ने, फल्ने र मौलाउने मौका पाए । आज यो वरदानकै रुपमा विकास भएको छ । नेपालमा पनि धेरैका घरमा टेलिभिजन छन् । ३५ वर्षअघि नेपाल टेलिभिजनबाट सुरु भएको टेलिभिजन पत्रकारिता अहिलेसम्म आइपुग्दा केन्द्र र प्रदेशमा गरी सूचना विभागमा दर्ता भएर सञ्चालनमा रहेका ३४ वटा च्यानलमात्रै देखिएपनि झण्डै एक सय च्यानल प्रशारणमा छन् । टेलिभिजनकै कारण रोजी रोजी ‘च्यानल चेन्ज’ गरेर हेर्न हामीलाई सजिलो भएको छ । बालबालिकाका लागि, युवाका लागि, वृद्धवृद्धाका लागि, विद्यार्थी, व्यापारी, गृहणी लगायत सबै पक्ष र वर्गका लागि टेलिभिजन कार्यक्रमहरुको निर्माण र प्रशारण भएका छन् । यो सबै टेलिभिजनका कारण सम्भव भएको हो । टिभीमार्फत नयाँ कुरा, ज्ञान, सीप अनि अनुभवहरु लिन सकिन्छ, नदेखेको ठाउँ देख्न सकिन्छ अनि कतिपय महत्वपूर्ण कुराहरु प्रत्यक्ष हेर्न सकिन्छ । टेलिभिजनले मनोरञ्जन प्रदान गर्नुका साथै आम दर्शक श्रोतालाई सूचना दिएर सूचनाको पहुँचमा पु¥याउन अहम भूमिका खेलेको छ । शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा खवरदारीको भूमिका निर्वाह गर्दै ताजा–ताजा समाचार, कार्यक्रम, विज्ञापन र मनोरञ्जनात्मक कार्यक्रम प्रशारण गरेर दर्शक र श्रोतालाई सु–सूचित गर्नका लागि टेलिभिजनहरुले महत्वपूर्ण भूमिका खेलका छन् । सूचनाको क्षेत्रमा टेलिभिजनले पु¥याएको योगदान अतुलनिय रहेको छ भन्दा फरक पर्दैन । टेलिभिजनको आगमनपछि सञ्चारको क्षेत्रमा एक नयाँ आयाम सुरु भएको थियो । विश्वमा प्रथम विश्वयुद्ध समाप्तीपछि रेडियोको विकाससँगै क्रमशः सञ्चार जगत् टेलिभिजनतर्फ आकर्षित भएको थियो । टेलिभिजन आगमनले विश्व सञ्चारलाई एक छुट्टै पहिचान दिन सफल भएको थियो । टेलिभिजनको आधिकारिक सुरुवात भने सन् १८३५ मा सामुअल मोर्सले आविष्कार गरेको टेलिग्राफ नै प्रसारण माध्यमको विकासको प्रथम प्रसारणको इतिहास देखिन्छ । यो टेलिग्राफ प्रविधिबाट तारको सहायताले अक्षरको प्रसारण गरी टेलिभिजनको विकास यात्रा सुरु भएको देखिन्छ । त्यसपछि सन् १८८४ मा निपको नामका एक जर्मन नागरिकले तारबाट तस्बिर प्रसारण गर्ने एउटा स्कानिङ डेस्क तयार गरेको देखिन्छ । टेलिभिजन इतिहासको यस अध्ययनलाई अमेरिका तथा युरोपका वैज्ञानिकहरूले थप अध्ययन र अनुसन्धान तथा निरन्तरता दिए ।

सन् १८९५ मा इटलीका मार्काेनीले तारबिना ध्वनि वा आवाज सम्प्रेषण गर्ने प्रविधिको विकास गरे जसले रेडियो तथा टेलिभिजनको अविष्कारलाई झन् सहयोग पुर्याएको थियो । त्यसपछि स्कटल्यान्डका वैज्ञानिक जोन लोगी बर्यर्डले बेलायतमा सन् १९२६ मा वायु तरङ्ग माध्यमबाट ध्वनि र चित्र पनि सम्प्रेषण गर्न सकिन्छ भन्ने विधि पत्ता लगाए जसले टेलिभिजनको आविष्कारलाई झन् सहयोग पुर्याएको देखिन्छ । यस प्रविधिले पहिलोपटक चित्र र आवाज दुवै सम्प्रेषण प्रविधिको प्रयोग गरे । यसपछि सन् १९२८ जनवरी १ मा प्रथमपटक द अक्टागन टेलिभिजन सार्वजनिक गरिएको इतिहास छ । यो सामान्य विद्युतीय सामग्रीद्वारा बनाइएको पहिलो मेकानिकल टेलिभिजन सार्वजनिक रूपमा प्रदर्शन गरिएको थियो । टिभी छिटो घुम्ने पाङ्ग्राहरूद्वारा सञ्चालित थियो । टिभीलाई प्रयोगका रूपमा बनाएका थिए र पहिलो टिभी नाटक, द क्वीन्स मेसेन्जर प्रसारण गरेको थियो । यसमा ३ इन्चको स्क्रिन थियो । टेलिभिजन माध्यमको विकास दुईवटा विश्वयुद्धबीच भएको हो ।

पहिलो विश्वयुद्धपछि टिभी प्रसारणका लागि अध्ययन तीव्र बनाइएको थियो ।त्यसपछि सन् १९३६ मा बेलायतबाट टेलिभिजन प्रसारण सुरु भयो । यसको जिम्मा बेलायत सरकारले बीबीसीलाई दियो । विश्वको पहिलो टेलिभिजन स्टेसन ‘डब्लुजिवाई’ टेलिभिजन हो । यो टेलिभिजन सन् १९२८ देखि १९४२ सम्म प्रसारण भएको इतिहास छ । सन् १९३६ मा बेलायत सरकारले बीबीसीलाई सञ्चालन अनुमति दियो जुन हालसम्म सञ्चालन रहको छ । त्यसपछि सन् १९३९ मा अमेरिकाबाट टेलिभिजनको नियमित प्रसारण सुरु भयो । सन् १९५० पहिलो पल्ट रिमोट कन्ट्रोलसहितको टेलिभिजनले यस क्षेत्रलाई थप सहज बनायो । स्टेसनलाई हातले परिवर्तन गर्नुपर्ने अवस्थालाई यसले थप परिवर्तन गरेको थियो । टेलिभिजनमा विकासलाई दोस्रो विश्व युद्धले केही बाधा गरेको देखिन्छ । यसरी विश्व इतिहास रहेको छ । नेपालमा टेलिभिजन इतिहास हेर्दा तत्कालीन राजा वीरेन्द्रले केही विदेशी कम्पनीलाई नेपालमा टेलिभिजनको अध्ययन अनुमति दिएका थिए । नेपालमा सो समयसम्म केही धनाढ्य व्यक्तिहरूको घरमा टेलिभिजन सेट भित्रिसकेको थियो ।

नेपालमा टेलिभिजन नहुँदा विदेशी च्यानलको दबदबा भएको भन्दै नेपाली टेलिभिजनको आवश्यकता भएको भन्दै आवाज उठेको थियो । विदेशी टेलिभिजनहरूले नेपालको संस्कृतिमा पार्न सक्ने अतिक्रमण रोक्ने उद्देश्यका २०४१ माघ १७ गते नेपालमा नेपाल टेलिभिजनको प्रसारण सुरु थियो । हाल ३७ वर्षको नेपाल टेलिभिजनपछि निजी क्षेत्रबाट टेलिभिजन च्यानल सुरु हुँदै टेलिभिजनको विकास हालसम्म भएको इतिहास देखिन्छ । नेपाल र विश्वमा पत्रकारिताको सुरुवात त छापा माध्यमबाटै भयो । त्यसपछि रेडियोको विकास भयो अनिमात्र टेलिभिजन पत्रकारिता सुरु भयो । मान्छेको स्मृतिपटलमा दृश्य बढी समयसम्म टिकिरहन्छ । टेलिभिजन पत्रकारितामा दृश्य र आवाज दुवै हुन्छ । त्यसैले पनि स्मृतिपटलमा टिकिरहन्छ । नेपालमा टेलिभिजन पत्रकारिता सबैभन्दा पहिले नेपाल टेलिभिजनबाटै सुरु भएपनि अहिले निजीक्षेत्रबाट एकसयभन्दा बढी टेलिभिजन सञ्चालनमा छन । तथापि विभिन्न स्वतन्त्र सर्वेक्षणका आधारमा एबीसी टेलिभिजन अन्य टेलिभिजनको भन्दा विश्वासिलो रहेको विभिन्न तथ्याङ्क देखिएको छ ।

आज भदौ १९ गते हामी टेलिभिज स्थापनाको १६ औं वर्षमा प्रवेश गरेका छौ । टेलिभिजन हरेक हिसाबले विश्वसनीय हुने भएकाले नागरिकको विश्वास टेलिभिजनप्रति बढी हुन्छ । टेलिभिजनमा मान्छे बोलेको प्रत्यक्ष देखिने, साक्षात्कार हुने हुनाले दर्शक, श्रोताले बढी विश्वास गर्छन । टेलिभिजनमा हत्तपत्त छलछाम, ढाँट गर्ने अवस्था रहँदैन । अहिले प्रविधिको विकास धेरै भएको छ । त्यसैले मान्छेहरू पनि ‘डाइभर्ट’ भइरहेका छन । तर यसलाई डिजिटल प्लेटफर्ममा जोडेर हेर्दा मिडियामा सबैभन्दा बढी भ्यूअर (दर्शक) अझै टेलिभिजनमै छन् भन्न सकिन्छ । भूउपग्रहको माध्यमबाट हेर्दा पनि विश्वको १ सय भन्दा बढि देशमा टेलिभिजन पत्रकारिताको पहुँच छ । सँगसँगै जहाँ इन्टरनेट त्यहाँ टेलिभिजन हुने अवस्था भइसकेको छ । हामीले एबीसी टेलिभिजनलाई टेलिभिजन स्क्रिन (पर्दा)भन्दा बाहिर डिजिटल प्लेटफर्ममा मोबाइल एप, लाइभ स्ट्रिमिङमार्फत अगाडि ल्याएका छौँ ।

एबीसी टेलिभिजनलाई यसअघि थप प्रविधिमैत्री बनाउनमा जोड दिएका छौ । विश्वका जुन सुकै स्थानमा हेर्ने हामीले प्रत्येक पलका समाचार र एबीसी टेलिभिजनका कार्यक्रमहरुलाई फेसबुक पेज र युटुवमा मार्फत लाईभको पनि व्यवस्था गरेका छौ । २०६२–६३ को आन्दोलनले धेरै विषयमा परिवर्तन ल्यायो, लोकतन्त्र, गणतन्त्र, समावेशिता, सामाजिक न्यायलगायतको परिवर्तनको एजेण्डा स्थापित भए । एबीसी टेलिभिजनले आफ्नो व्यावसायिकता मार्फत मुलुकमा भएको विकृति विसंगति विरुद्ध खवरदारी गर्दै आम नागरिकलाई सुशुचित गर्ने अभियानलाई सघाइरहेको छ । विषयवस्तुको आधारमा हामीले कार्यक्रमलाई प्रस्तुत गर्दा प्रोटोकल (मर्यादातह) को आधारमा होइन, विषयस्तुको आधारमा प्राथमिकीकरण गरेका छौ । केन्द्रमा मात्र होइन, हरेक क्षेत्र, समाजिक समावेशीकरण, लैङ्गिक विविधतालाई ध्यान दिएका छौं ।

त्यसैले सबैको अपनत्वबोध हामीले महसुस गरेका छौँ । हामीले राजनीति सगै विकास निर्माण, शिक्षा स्वास्थ्य, जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने विषयवस्तुलाई बढी प्राथमिकता दिने गरेका छौँ । बालबलिका, ज्येष्ठनागरिक, दलित, विपतमा परेका, पछाडि परेका, स्वस्थ मनोरञ्जनका विषय र सन्देशमूलक विषयलाई प्राथमिकता दिएर प्रशारण गरिरहेका छौँ । विषयवस्तुको आधारमा एबीसी टेलिभिजन अग्रणी स्थानमा रहेको छ । हाम्रो समाचार कक्ष स्वतन्त्र छ, भाषा पनि सभ्य छ । हामी सरकार र प्रतिपक्ष को पनि आलोचना गर्छौं तर रचनात्मक ढङ्गले गर्छौं । समाचारमा सन्तुलन कायम गरेका छौं ।

विरोधीलाई गाली गर्ने औजारका रूपमा हामीले टेलिभिजनको दुरूपयोग गरेका छैनौँ । हामिले आवाज विहिनहरुलाई पनि उत्तिकै स्थान दिएका छौँ । नकारात्मकतालाई हामीले धेरै स्थान दिँदैनौँ तर आलोचनालाई स्थान दिन्छौँ, स्वागत गर्छौं । प्रतिस्पर्धात्मक क्षमता विकास गर्न अझै आवश्यक छ । सामूहिकतालाई हामीले ध्यान दिएका छौँ । प्रविधिले नयाँ नयाँ प्रयोगका निम्ति जहिल्यै दबाब सिर्जना गरिरहेको हुन्छ । समयअनुसार हामीले प्रविधिलाई अपनाउँदै आएका छौँ । सत्यतथ्यलाई प्राथमिकता दिएका छौँ । समाचारमा सन्तुलन कायम गरेका छौँ । मिडियाको काम सूचना दिने, शिक्षा दिने, मनोरञ्जन दिने र विचारका निर्माण गर्ने हो । यसमा हामी दृढ छौं । हरेक व्यक्तिको हातमा अहिले मिडिया छ । सोसल मिडियाको विकासले त झन् मूलधारका मिडियालाई नियमित चुनौती दिइरहेको छ । आफ्नो मिडियाको प्लेटफर्ममा नागरिकलाई राख्ने चुनौती छ । त्यसैले हामिले भाषालाई सभ्य, शिष्ट सुसंस्कृत बनाएका छौँ । प्रविधिको विकास निरन्तर भइरहेको छ । बजारमा नयाँनयाँ प्रविधि भित्रिरहेका छन । त्यसलाई हामीले अपनाउँदै जानुपर्ने अवस्था छ । सत्यको पक्षमा मिडिया जहिले पनि रहनुपर्छ । मिडियाले आशाको सञ्चार गर्नुपर्छ । यथार्थ भएका विकास निर्माण र समृद्धिका विषयलाई उजागर गर्नुपर्छ । अनावश्यक आलोचना मात्रै गरेर जनतालाई भ्रममा राख्ने काम गर्नुहुँदैन । हामी व्यावसायिक नागरिक प्रति उत्तरदायी माध्यमका रूपमा एबीसी टेलिजिभनलाई अगाडि लग्ने अभियानमा छौँ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com