काठमाडौं, १२ भदौ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले डेडिकेटेड ट्रंक लाईनबाट बिजुली लिएर अर्बौं रुपैयाँ महशुल नबुझाउनेहरुसँग मन्त्रीको साँठगाँठ रहेको भन्दै छानबिन हुनु पर्ने माग गरेका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले बिजुली महशुल असुली गर्न नसकेकाले प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई पदबाट निलम्वन गर्न पनि उनले माग गरे।
उनले डेडिकेटेड ट्रंक लाईनबाट बिजुली लिने तर अर्बौं महशुल नतिर्नेहरुसँग मन्त्रीहरुले साँठगाँठ गरिरहेको आरोप लगाउँदै तथ्य बाहिर ल्याउनेगरी छानबिन गर्न पनि सरकारको ध्यानाकर्षण गराए।
संसदमा बोल्दै सुवालले भने, ‘निर्वाचन आयोगले निर्वाचन सम्बन्धी एकीकृत विधेयक मस्यौदा गरेको छ। तर राष्ट्रिय दलको मान्यता प्राप्त गर्न समानुपातिक निर्वाचनमा ३ प्रतिशत प्राप्त गर्नुपर्ने प्रजातन्त्र विपरितको प्रावधान यथावत राखिएको छ। यो मत सीमा हटाउन सर्वोच्च अदालतमा दायर गरिएको मुद्दा ६ वर्ष भयो। तर फैसला भएको छैन।’
सांसद सुवालले राजनीतिक दलहरुले राष्ट्रिय मान्यता प्राप्त गर्न ३ प्रतिशत मत ल्याउनैपर्ने प्रावधानसहितको निर्वाचन सम्बन्धी एकीकृत मस्यौदा लोकतन्त्रको मर्म विपरित रहेकाले मान्य नहुने पनि बताए।
प्रतिक्रिया दिनुहोस्