काठमाडौं, १० भदौ । सत्ता गठबन्धनले संसदीय समितिका सभापति पदअन्तर्गत आफूले पाएका सिटमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा लाई एउटा दिने भएको छ।
आइतबार बसेको सत्तारुढ दलका प्रमुख सचेतकसहितको बैठकले राप्रपालाई एउटा समितिको सभापति पद दिने निर्णय गरेका हुन्। यद्यपि कुन समिति दिने भन्ने खुलाइएको छैन।
‘अहिलेसम्म संसदीय विशेष सुनवाइ समिति दिने भन्ने नै छ,’ बैठकस्थलमा रहेका एक सांसदले भने। प्रतिनिधिसभाका १० र राष्ट्रिय सभाका २ गरी १२ वटा समितिमा नेतृत्व छान्न भोलि भदौ ११ गते निर्वाचन हुँदै छ।
दलहरुबीचको सहमतिअनुसार कांग्रेसले ४, माओवादी केन्द्रले २, एकीकृत समाजवादीले १, जसपाले १ र जनमतले १ समितिको नेतृत्व पाउनेछन्। एमालेको भागमा ३ वटा समिति परेका छन्।
सत्ता गठबन्धनले आफूले पाएका समितिमध्ये एउटा राप्रपालाई दिने भएको हो।
प्रतिक्रिया दिनुहोस्