काठमाडौं, ५ साउन । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अनुसन्धान सकेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी ले प्रतिवेदन बुझाएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्यूतमणी नेउपानेले मंगलबार बिहान फायल आएको बताए। ‘फायल बिहान आएको छ। अब हामी अध्ययन गर्छौं र अभियोग दायर बारे निर्णय गर्छौं’, नेउपानेले नेपालखबरसँग भने।
सीआईबीले असार १२ गते भाटबटेनी सञ्चालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिर शाह लगायत २३ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो।
ती मध्ये ५ जना अदालतको आदेशले रिहा भएका थिए। १८ जना हिरासतमा छन्। यो प्रकरणमा सीआईबीले दुई पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराई, पूर्व मन्त्रीहरु चन्द्रदेव जोशी, विजयकुमार गच्छदार, सञ्जय साह, पूर्व मुख्यसचिव लिलामणी पौडेलसँग पनि बयान लिएको छ।
अब दुई दिन भित्रमा जिल्ला अदालत काठमाडौं वकिल कार्यालयले मुद्दा दायर गर्नेछ। सीआईबीले सरकारी लिखत कीर्तेको कसुरमा मुद्दा अगाडी बढाएको छ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दाको पनि फैसला हुन बाँकी छ।
प्रतिक्रिया दिनुहोस्