काठमाडौ साउन १४ । निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको माथिल्लो भागबाट पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।उक्त राजमार्गको तानसेन(बुटवल सडकखण्ड अन्तरगत तिनाउ गाउँपालिका वडा नं(३, दोभानस्थित ड्यामसाइड नजिक ठूलो पहिरो खसेपछि आइतबार बिहानैदेखि राजमार्ग अवरुद्ध भएको हो ।यसअघि पहिरोले एकतर्फी भएको सडकमा माथिबाट पुनः पहिरो खसेपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध बनेको दोभान प्रहरी चौकीले जनाएको छ ।
अहिले सुरुङमार्ग आयोजना अन्तर्गतको मेसिन लगाएर पहिरो खुलाउने प्रयास गरेको प्रहरीले जनाएको छ ।ठूला ढुंगासहित पहिरो खसेको हुँदा सडक खुलाउन केही समय लाग्ने प्रहरीको भनाइ छ । उक्त स्थानमा केही दिनअघि पनि पहिरो खसेको थियो ।वर्षा हुँनासाथ ढुंगा र लेदोसहितको पहिरो खसिरहँदा सवारी आवागमनसँगै सिद्धबाबा सुरुङमार्ग निर्माणमा समेत अवरोध पुर्याउदै आएको छ ।बिहानैदेखि राजमार्ग अवरुद्ध हुँदा पहाड र तराईका लागि यात्रामा निस्किएका यात्रुहरु अलपत्र परेका छन् । पहिरो पन्छाएर सडक खुलाउन कम्तिमा दुई घण्टा लाग्ने प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्