ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किन पटक पटक अध्यागमनले वैदेशिक रोजगारीमा हिंडेकालाई रोक्छ ? फेरि कुवेत हिँडेका ३७ श्रमिक फर्काइए


ABC NEWS

काठमाडौं ३१ असार । अध्यागमन कार्यालयले कागजपत्र नपुगेको भन्दै दोस्रोपटक पनि कुवेत जान लागेका श्रमिकलाई त्रिभुवन विमानस्थलबाट फर्काएको छ । गत २७ असारमा रोकिएका श्रमिकमध्ये ३७ जना पुनः टिकट खरिद गरी शुक्रबार बेलुका सलाम र जजिरा एयरलाइन्समार्फत कुवेत उड्न विमानस्थल पुगेका थिए । तर, अध्यागमनले अनुसन्धान भइरहेको भन्दै उनीहरूलाई उड्न दिएन । वैदेशिक रोजगारीमा कुवेत जान लागेका श्रमिकहरूको कागजपत्र ठीक भए पनि छानबिनको प्रक्रियामा नै रहेकाले शुक्रबार बेलुका उनीहरूलाई रोकेको अध्यागमन विभागका सूचना अधिकारी झन्कनाथ ढकालले बताए ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार ३७ जनालाई म्यानपावर कम्पनीले अर्को टिकट काटेर पठाएको थियो । जसमध्ये निरकमल एचआर म्यानपावर कम्पनीबाट पठाएका ११ जना जजिरा एयरलाइन्सबाट र चारजना सलाम एयरबाट कुवेत जान लागेका थिए । यस्तै, युथ म्यानपावरले पठाएका १३ जना जजिरा एयर र नौजना सलाम एयरबाट कुवेत जान लागेका थिए । २७ गते रोकिएमध्ये नौजना भने शुक्रबार बिहान सात बजे कुवेत एयरलाइन्समार्फत उडेका छन् । कार्यालयले श्रमिकमाथि विभेदपूर्ण काम गरेको संघको आरोप छ । आठ महिलासहित नौजना कुवेत पुगेका हुन् ।

गत २७ गते त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयले विभिन्न एयरलाइन्समार्फत कुवेत जान लागेका एक सय १७ जना श्रमिकलाई रोकेको थियो । जसमध्ये बुधबार बेलुका फर्काइएकाहरूमा निलकमल ह्युमनबाट गएका २४ जना, इन्डेक्स म्यानपावरबाट गएका ४७ जना, युथ म्यानपावरबाट गएका ३२ जना र सुलभ म्यानपावरबाट गएका चारजना रहेका छन् ।

अध्यागमन कार्यालयको मनपरी
त्रिभुवन विमानस्थलमा रहेको अध्यागमन कार्यालयका कर्मचारीको गैरजिम्मेवारीपूर्ण कार्यका कारण नेपाली श्रमिकले झन्झट व्यहोर्नुपरेको वैदेशिक रोजगार व्यवसायी संघले आरोप लगाएको छ । कार्यालयले आफ्नो अधिकारभन्दा बाहिर गएर श्रमिकलाई दुःख दिएको संघको आरोप छ । श्रमिकको भिसा प्रमाणित श्रम कार्यालयले नै गरिसकेको हुन्छ । तर, अध्यागमनले आफ्नो अधिकार नै नभएको विषयमा छानबिन गरी गलत तर्क प्रस्तुत गरेको संघका अध्यक्ष भण्डारीले बताए ।

अध्यागमनले शंकाकै आधारमा श्रमिकलाई रोक्दा अन्तर्राष्ट्रिय मुद्दा बन्न सक्ने संघका अध्यक्ष भण्डारीले बताए । ‘यो मुद्दामा अन्तर्राष्ट्रिय एयरलाइन्स जोडिन्छ । त्यति मात्रै होइन, गन्तव्य मुलुकको नेपाललाई हेर्ने दृष्टिकोणमा पनि असर पर्छ,’ उनले भने । तर, कार्यालय कर्मचारीलाई यस्ता विषयले केही फरक नपार्ने उनले बताए ।

अध्यागमनले शंकाकै भरमा रोकेका श्रमिकको आर्थिक क्षति व्यहोर्नुपर्ने उनले बताए । ‘प्लेन छुट्दा नयाँ टिकट काटेर जानुपर्छ । त्यति मात्रै होइन, १६ जनाको आइतबार भिसा अवधि सकिँदै छ,’ उनले भने । यसो अवस्थामा श्रमिकले फेरि सबै प्रक्रिया दोहोर्‍याउनुपर्ने उनले बताए ।

कार्यालयले श्रमिकलाई अनावश्यक दुःख दिएको वैदेशिक रोजगार विभागका निर्देशक गुरुदत्त सुवेदीले बताए । श्रम स्वीकृति पाइसकेको श्रमिकको कागजपत्रमा खासै समस्या नहुने उनले बताए । अध्यागमन कार्यालयले भने श्रमिकसँग भएको भिसा पेपर र अन्य कागजपत्र पनि शंकास्पद देखिएकाले श्रमिकलाई रोक्नुपरेको दाबी गरेको छ ।

तर, व्यवसायीले भने अध्यागमन कार्यालयले यसअघि पनि विभिन्न बहानामा श्रमिकलाई दुःख दिने गरेको बताए । कार्यालयले भिसा, कम्पनी र पद फरक भएको कारण देखाउँदै श्रमिकलाई तनाव दिन थालेपछि ३० वैशाख ०७१ मा वैदेशिक रोजगार व्यवसायी संघको पहलमा एक निर्णय भएको थियो ।

तत्कालीन अध्यागमन विभागका महानिर्देशक शरदचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले श्रमिकहरूको भिसामा उल्लेख हुने पेसा, कम्पनीलगायत विवरणमा भिसा र श्रम स्टिकरमा फरक परेको अवस्थामा पनि कार्यालयले रोक्न नपाउने निर्णय भएको थियो ।

अध्यागमनको कार्यप्रति चौतर्फी विरोध
त्रिभुवन विमानस्थलमा रहेको अध्यागमन कार्यालयले वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई शंकाकै भरमा रोकेपछि कार्यालयविरुद्ध चौतर्फी विरोध भएको छ । वैदेशिक रोजगार व्यवसायी संघले श्रममन्त्री र गृहमन्त्रीलाई नै भेटेर यस विषयमा छानबिन गर्नसमेत आग्रह गरेको छ । संघले कार्यालयले शंका लागेको कागजपत्रसमेत देखाउन नसकेको आरोप लगाएको छ ।

यसको अर्थ सीधै श्रमिक र व्यवसायीलाई दुःख दिने कार्यालयको नियत देखिने संघका अध्यक्ष भण्डारीले बताए । त्यस्तै, सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले नेपाली युवायुवतीलाई अध्यागमन विभागले विभिन्न कारण देखाई वैदेशिक रोजगारमा जान नदिई फर्काएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यागमन विभागअन्तर्गतका कर्मचारीले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृतिको कानुनी प्रक्रिया पूरा गरी जान लागेका नेपालीलाई विदेश जान नदिई अपमानजनक रूपमा फर्काइएको कार्य गैरसंवैधानिक र गैरकानुनी भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com