विराटनगर २४ असार । कोशी प्रदेश सरकारमा ३ जनाले मन्त्री आइतबार नियुक्त भइ पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङ्ले माओवादीका जविगन आचार्यसँगै राजेन्द्र कार्की र कांग्रेसका रामकुमार खत्रीलाई शपथ ग्रहण गराएका हुन् ।
मुख्यमन्त्री उद्धव थापाले आचार्यसहित तीन जनालाई मन्त्री नियुक्त गरेर पहिलो पटक मन्त्रिपरिषद् विस्तार गरी ६ सदस्यीय बनाएका हुन् ।
उनले मोरङका आचार्यलाई आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त गरेका छन् भने माओवादीबाट संखुवासभाका राजेन्द्र कार्की र कांग्रेसबाट नेता शेखर कोइराला निकट उदयपुरका रामकुमार खत्रीलाई मन्त्री नियुक्त गरेका छन् । आचार्य दोस्रोपटक मन्त्री नियुक्त भएका हुन् ।
सभामुख बाबुराम गौतमको समर्थनमा बहुमत पुर्याएर बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार कांग्रेसबाट पार्टी सभापति शेरबहादुर देउवानिकट ओखलढुंगाका प्रदिपकुमार सुनुवार र नेकपा एकीकृत समाजवादीबाट पाँचथरका कमलप्रसाद जबेगुलाई मन्त्री नियुक्त गरेर सपथ लिएका थिए ।
अघिल्लो कार्यकालमा निवर्तमान हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि आचार्य चार महिना पर्यटन, वन तथा वातावरणमन्त्री भएका थिए । शनिबार बसेको दलको बैठकले मन्त्रीमा उदयपुरका नारायणबहादुर मगरलाई पठाउने माओवादीले निर्णय गरेको थियो । तर कांग्रेसबाट पनि उदयपुरका खत्री मन्त्री नियुक्त हुने भएपछि जिल्लागत सन्तुलन मिलाउन कार्कीको नाम सिफारिस गरिएको हो ।
यसैबीच, नेकपा एकीकृत समाजवादी ले मन्त्री चयनमा असन्तुष्टि जनाएको छ । उक्त पार्टीबाट इलामकी प्रदेश सांसद खिनु लङ्वा लिम्बूलाई भौतिक पूर्वाधार विकासमन्त्री नदिने भएपछि असन्तुष्ट भएको बुझिएको छ । एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले सहमतिबिना मन्त्री नियुक्त गरेकाले गठबन्धनभित्रको सहमति सहकार्यको वातावरण बिथोलिएको बताए । उनले यस्तै प्रक्रियाले मुख्यमन्त्री थापा अघि बढे विश्वासको मत नदिने बताए । उक्त विवादले एकीकृत समाजवादी सपथ कार्यक्रम बहिष्कार गरेको हो । थापाले मुख्यमन्त्रीमा शपथ लिने दिन माओवादी केन्द्र अनुपस्थित भएका थिए ।
प्रदेशको नयाँ सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै एमालेले सर्वोच्च अदालतमा शुक्रबार रिट निवेदन दायर गरेको छ । उक्त निवेदन माथि सुनुवाइका लागि सर्वोच्च अदालतले आइतबारको पेशी तोकेको छ ।
प्रतिक्रिया दिनुहोस्