काठमाडौ असार १५ । कालीकोटका पाँच स्थानीय तहमा कालाजारका बिरामी भेटिएका छन् । पचालझरना, पलाता, सान्नित्रिवेणी, रास्कोट र नरहरिनाथमा कालाजारका बिरामी फेला परेका हुन् ।जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतका अनुसार यस वर्ष आठ महिला र १२ पुरुष गरी २० कालाजारका बिरामी फेला परेका छन् ।
यसको उपचार सदरमुकाम मान्मस्थित जिल्ला अस्पतालमा हुने गरेको छ । आर्थिक वर्ष २०७७÷७८ मा ४३ तथा आव २०७८÷७९ मा २८ कालाजारका बिरामी फेला परेका उनले जानकारी दिए ।जलवायु परिवर्तनका कारण पहाडी जिल्लामा कालाजारको असर देखिन थालेको जिल्ला अस्पतालका प्रमुख डा सङ्केत विश्वकर्माले बताए।
“पहिला तराईमा मात्र देखिने कालजार र ओलौरोग पछिल्लो समय पहाडी जिल्लामा समेत देखिन थालेको छ”, उनले भने–“तापक्रममा वृद्धि भएसँगै लामखुट्टे बढ्दा यो रोग देखिएको हो ।”
–––
प्रतिक्रिया दिनुहोस्