ताप्लेजुङ, ३ असार । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परि एकै घरका तीन जनासहित चार जना बेपत्ता भएका छन् ।
घर माथिबाट आएको पहिरोमा परि यामकुमार बुढाथोकीकी श्रीमती भगीमाया बुढाथोकी, बुहारी सन्ध्या बुढाथोकी र नाति प्रज्ज्वल बुढाथोकी बेपत्ता भएका हुन् । त्यही पहिरोमा परि हर्कबहादुर तामाङका छोरा गणेश तामाङ पनि बेपत्ता भएका जिल्ला समन्वय सदस्य कला कडरियाले बताए ।
यसैगरी मैवाखोलामा आएको बाढीले दोभानबजार जोखिममा परेको छ । बाढीले बजार क्षेत्र कटान गरेपछि दुई घर उच्च जोखिममा रहेको स्थानीय प्रदीप पोखरेलले बताए । उनका अनुसार दीपक धिताल र सुकबहादुर लिम्बूको घर उच्च जोखिममा छन् । बाढी सामान्यतया घटे पनि पानीको बहाव घटेको छैन । मध्यरातमा बाढी आएपछि बजारका आधा जसो घरपरिवार अन्तै सरेका छन् । बाढीले मेरिङ्देन गाउँपालिकातर्फ जाने खोला किनारको सडकसमेत बगाएपछि बाटो पूर्णरूपमा अवरुद्ध बनेको स्थानीय जयप्रसाद भट्टराईले जानकारी दिए।
मैवाखोला–२ र ५ नं वडा जोड्ने खार्तेखोलाको झोलुङ्गे पुल बगाएको स्थानीयले बताए । रातभर अत्यधिक वर्षासँगै ठाउँ–ठाउँमा बाढी र पहिरो झरेपछि जिल्लाका अधिकांश गाउँघरका मानिस रातभर नै जाग्राम बस्नुपरेको छ । जिल्लाका सबै ठाउँमा वर्षा भएको थियो । बिहीबार रातिमात्र सिरीजङ्घा गाउँपालिकाको याम्फुदिनमा बाढीले क्षति पुगेको थियो । यहाँका पाँचवटा सरकारी कार्यालय स्थानान्तरण गरिएको छ भने १५ घरपरिवार अन्तै सरेर बसेका छन् ।
यसैबीच मेची राजमार्गअन्तर्गत हिलिहाङ र फिदिम नगरपालिका जोड्ने हेवाखोलामा आएको बाढीले पुल बगाएपछि मेची राजमार्गसमेत पूर्णरूपमा अवरुद्ध भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्