काठमाडौं । सरकारले आज नयाँ मुख्य सचिव नियुक्तिको तयारी गरेको छ । त्यसका लागि मन्त्रिपरिषद् बैठक बस्दै छ ।नयाँ मुख्य सचिवको रुपमा डा. बैकुण्ठ अर्यालको सम्भावना छ । ‘हालका मुख्य सचिव शंकरदास वैरागीलाई कुनै आकर्षक पदमा व्यवस्थापन गरेर अर्याललाई मुख्य सचिव बनाउने तयारी रहेको बालुवाटार स्रोतले बताएको छ ।
हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छन् । सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी असार तीन गते सकिंदै छ । त्यस अगाडि नै उनलाई मुख्य सचिव नियुक्त गर्ने तयारी भइरहेको स्रोतले बतायो ।हालका मुख्य सचिव रहेका वैरागीको कार्यकाल भने आगामी असोज मसान्तसम्म छ ।
आफ्नो उचित व्यवस्थापनको सर्तमा वैरागी, अर्याललाई मुख्य सचिव बनाउन तयार छन् ।
वैरागी र अर्यालबीच सुमधुर सम्बन्ध रहेको उनीहरु निकट कर्मचारीहरु बताउँछन् । चैत दोस्रो साता अर्याललाई सञ्चार मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको थियो । केही समय अतिरिक्त समूहमा राखिए पनि पछि उनलाई आर्थिक तथा पूर्वाधार विकास हेर्ने जिम्मेवारी दिइएको थियो ।
प्रतिक्रिया दिनुहोस्