काठमाडौँ, २९ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनका शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले मतान्तर रहे पनि सत्ता गठबन्धनका दलहरू एकजुट हुनुपर्ने बताएका हुन् ।अध्यक्ष नेपालले आफ्नो पार्टी अहिले सत्ता गठबन्धनमा सहभागी भएको र गठबन्धनका घटकहरूबीचका धाराहरूमा केही मतान्तर स्वाभाविक रूपमा भएको पनि बताए ।
उनले अहिले सत्ताधारी र विपक्षी गठबन्धन रहेको बताए । ‘अहिले हामी गठबन्धनमा सामेल छौँ । गठबन्धनका घटकहरूका बीचका धाराहरूमा केही–केही मतान्तर पनि हुनसक्ला । तर म यसो हेर्दै छु, एउटा सत्ताधारी गठबन्धन छ, अर्को सत्ता बाहिरको गठबन्धन छ । सत्ता बाहिरको गठबन्धनमा कस्ता–कस्ता खालका शक्तिहरू छन्, संविधानमाथि गम्भीर आघात पुर्याउने शक्तिहरू छन्, संघीयतामाथि विश्वास नगर्ने मात्रै होइन, समाप्त पार्न चाहने शक्तिहरू छन्,ु उनले भने । अहिलेको गठबन्धन लोकतान्त्रिक र प्रगतिशील भन्दै उनले यस्ता कुरामा कुनै किसिमको धरमरको आवश्यकता नभएको बताए । ‘कमी कमजोरी हुन्छन्, आलोचना गर्ने पनि हो ।
कमजोरीप्रति आँखा चिम्लिने होइन । त्यसमा बग्ने, समर्थन गर्ने पनि होइन, लतारिने पनि होइन, किनभने एकता र संघर्ष चलिरहन्छ । अहिलेका सत्ताधारी शक्तिहरू एकताबद्ध भएर अघि बढ्ने कुराको विकल्प छैन‚’ उनले भने ।आफ्नो महत्त्व र भूमिकालाई अस्वीकार गर्नेहरूको चुनौतीको सामना गर्ने पनि उनको भनाइ थियो ।








प्रतिक्रिया दिनुहोस्