काठमाडौं, २८ जेठ । कालीकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
शुभकालिका गाउँपालिका–६ चिसापानीस्थित बेहुली पानतडी सडकखण्डको चौकी बजारबाट हाउडीतर्फ जाँदै गरेको लु१च८४९८ नम्बरको जिप शनिबार राति साढे ११ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा जिपका चालक शुभकालिका – २ भर्ताका ३० वर्षीय हर्के कामी, वडा नं। ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुलेका २५ वर्षीय गोपाल सलामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी जयश्वर रिमालले जानकारी दिए ।जिप सडकबाट १५० मिटर तल खसेको छ । यसैवीच रुपन्देहीको तिलोत्तमामा जिप दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा जिपका चालक अर्घाखाँचीको छत्रदेव गाउँपालिका–६ का ३२ वर्षीय विकास श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा२०च १४३८ नम्बरको स्कार्पियो जिप सिद्धार्थ राजमार्गअन्तर्गत तिलोत्तमा–३ शान्तिकुन्जमा दुर्घटना भएको हो ।
जिप अनियिन्त्रत भई बिजुलीको पोलमा ठोक्किदा गम्भीर घाइते भएका श्रेष्ठको बुटवलस्थित चौराहा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी जिपमा सवार अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा १७ वर्षीय सुशान श्रेष्ठ, १८ वर्षका विप्लव श्रेष्ठ, ४५ वर्षका सुरेन्द्र श्रेष्ठ, ३१ वर्षका विज्ञान श्रेष्ठ र ३५ वर्षका विशाल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको चौराहा अस्पतालमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्