काठमाडौं, २९ बैशाख । नेपालमा विदेशी लगानी भित्र्याउने विषयमा सरकारको धारणा स्पष्ट हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
लगानी बोर्डको कार्यालय र स्ट्यान्डर्ड चार्टर्ड बैंकको आयोजनमा काठमाडौँमा सुरु भएको ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन, २०२३’को पहिलो सत्र ‘वित्तीय स्रोतको परिचालन र प्रत्यक्ष विदेशी लगानी’मा बोल्ने विज्ञले सरकारले लगानी भित्र्याउनका लागि नीतिगत सुधारका साथै सरकारको सकारात्मक धारणा बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठले नेपालमा लगानी ल्याउनका लागि आवश्यक नीतिगत सुधार, सरकार तथा कर्मचारीतन्त्रमा खुला तथा उदार सोचका साथै नेपालमा लगानीका क्षेत्रसम्बन्धी प्रचारप्रसार आवश्यक रहेको बताउनुभयो ।
उहाँले नेपालको अर्थतन्त्र मुद्रास्फीतिलगायतका समस्याका बाबजुद पनि स्थिर रहेको अर्थतन्त्रमा कैयन समस्या हुँदा पनि अहिलेसम्म टाट पल्टने अवस्था नआएको भनाइ व्यक्त गर्नुभयो ।
नेपालको विकासका लागि ठूलो मात्रामा लगानी आवश्यक रहेको भन्दै उहाँले आन्तरिक स्रोत पर्याप्त नभएको उल्लेख गर्नुभयो । “हामीसँग विकासका लागि पर्याप्त आन्तरिक स्रोत नभएको अवस्थामा विदेशी लगानी आवश्यक छ”, उहाँले भन्नुभयो, “यसका लागि ग्रीन फाइनान्सिङ, प्रत्यक्ष विदेशी लगानी तथा ब्लेन्डेड फाइनान्समार्फत लगानी ल्याउन सक्नुपर्छ ।








प्रतिक्रिया दिनुहोस्