काठमाडौं, २८ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले स्थानीय तहले सीप विकास र बजार प्रबद्र्धनलाई कामको प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ ।
आज महोत्तरीको बर्दिबास नगर कार्यपालिकाका जनप्रतिनिधि र अगुवा राजनीतिक कार्यकर्तासँगको सामूहिक भेटमा मन्त्री रिजालले नगरका प्रत्येक बस्तीमा बजार बढाउन आग्रह गर्नुभयो ।
बर्दिबास नगर कार्यपालिकाको कार्यालयकै सभाहलमा आयोजित भेटघाटमा उहाँले सीप बढाउन, स्थानीय सीपअनुसारको उत्पादन बढाउन र उत्पादित सामग्रीको बजार बढाउनसके समृद्धिको यात्राले गति लिने उल्लेख गर्नुभयो ।
जनतालाई सीपसँग, सीपलाई उत्पादनसँग र उत्पादित सामग्रीलाई बजारसँग जोडौँ” रिजालले भन्नुभयो, “स्थानीय तहले यसको नेतृत्व लिउन्, सरकार सहयोग गर्न तत्पर छ ।” प्रत्येक स्थानीय तहमा अब औद्योगिक ग्रामको अवधारणाअनुसार कामअघि बढाउन सम्बद्ध जनप्रतिनिधिले योजना बनाउन आवश्यक रहेको रिजालको भनाइ छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री रिजालले अब दलहरुका नियमित साङ्गठनिक कामका योजनामा पनि जनताको जीवनस्तर उकास्ने स्पष्ट मार्गचित्र र तदनुरुपको काम देखिनपर्ने उल्लेख गर्नुभयो ।
अब आर्जनको पाटोमा जनतालाई उत्प्रेरित गर्न दलहरुको प्रयत्न देखिनपर्छ” रिजालले भन्नुभयो, अहिलेसम्मका आन्दोलनका कारण जनताले राजनीतिक अधिकार पाएका छन्, अब समृद्धिका लागि उत्पादन र बजार बढाउन जरुरी छ ।
एक फरक प्रसङ्गमा मन्त्री रिजालले अहिले प्रहरीले अघि बढाएको नक्कली भुटानी शरणार्थी प्रकरणको कारबाहीमा सरकारी हस्तक्षेप नहुने स्पष्ट पार्नुभयो । “जतिसुकै उच्च ओहदाका भए पनि दोषी छन् भने कारबाही हुनपर्छ”, रिजालले भन्नुभयो, “सरकारबाट यो अनुसन्धान कारबाहीमा हस्तक्षेप हुँदैन । भ्रष्टाचार मुलुकको समृद्धिको मुख्य बाधक भएको हुँदा यसको नियन्त्रणमा मुलुकका सबै दल सहयोगी बन्नुपर्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्