काठमाडौं २२ बैशाख । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको आशंकामा भैरहवा आसपासमा पक्राउ परेका भनिएका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी हराएका छन् ।
रायमाझी पक्राउ परेको भन्दै एमाले अध्यक्ष केपी उर्मा ओलीले विहीबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर प्रतिवाद गर्नेसम्मको चेतावनी दिएका थिए । प्रचण्डलाई भेटेर पत्रकारलाई प्रतिक्रिया दिंदै ओलीले बाटोमा हिंड्दा हिंड्दै एमालेको सचिव र पटक पटक मन्त्री र उपप्रधानमन्त्री भइसकेको मानिसलाई किन पक्रेको भनेर प्रश्न गरेका थिए । ओलीले भनेका थिए – एउटा सांसद, पटक–पटक मन्त्री, उपप्रधानमन्त्री भइसकेको पार्टीको नेतालाई बाटामा हिँड्दाहिँड्दै षड्यन्त्रपूर्ण ढंगले समाउनु खोज्नु रहस्यपूर्ण छ, किनभने भागेर, उम्किएर कतै जाने खालको मान्छे त होइन, अहिलेको बहालवाला सांसद,’ । तर रायमाझी शुक्रबार विहानसम्म पक्राउन नपरेको भन्दै प्रहरीले स्पष्टीकरण दिएर रायमाझी प्रकरण थप रहस्यमय भएको छ ।
बुधबार उनलाई पक्राउ पुर्जी जारी भएको बेला उनी अर्घाखांचीको एक कार्यक्रममा सभामुख देवराज घिमिरेसंगै थिए । कार्यत्रलम सकिएपछि पत्रकारहरूसँग ‘आफू र आफ्नो परिवारको कुनै संलग्नता नरहेको तथा प्रहरीलाई सघाउने’ भन्दै काठमाडौंका लागि हिँडेका थिए । , उनी अर्घाखांची बाट हिंडेपछि बाटोबाटै ‘भूमिगत’ भएका छन् ।
पक्राउ पुर्जी जारी भएपछि आफूले रायमाझीसँग संवाद गरेको र उनले काठमाडौं आएर सम्पर्क गर्ने बताइसकेपछि पनि कहिले समातेको, कहिले फरार भएकोजस्ता नियोजित हल्ला सरकारले नै चलाएको उनको आरोप छ । ‘तपाईंलाई पक्राउ पुर्जी जारी भएको सुन्छु नि, कुनै जानकारी छ भनेर बेलुका फोन गरेर सम्पर्क गरेको थिएँ, उहाँले आइजिपीलाई सोधेँ त्यस्तो होइन, कुरा के भएको हो एकपटक स्पष्टचाहिँ पारिदिनुपर्ला भन्ने जवाफ आएको छ, काठमाडौं आउँदै छु भोलि भन्नुभएको थियो । तर, अहिले समातेको भन्ने पनि सुन्छु, फरार भनेको पनि सुन्छु के हो थाहा छैन,’ ओलीले रायमाझीको बचाउ गर्दै भने ।
आफू प्रधानमन्त्री भएकै वेला नेपालमा बाँकी रहेका भुटानी शरणार्थीको व्यवस्थापनबारे कार्यदल बनाएर तीन विकल्पमा अध्ययन अगाडि बढिरहेकै वेला नक्कली शरणार्थी खडा गरेर अनियमितता गर्ने प्रयासको सूचना आएको पनि ओलीले बताए । त्यतिवेलै सत्यतथ्य बुझेर तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई रोक्न निर्देशन दिएको, तर सरकार फेरिएपछि त्यसबारे थप जानकारी नभएको पनि ओलीको भनाइ छ ।
‘पहिलो– भुटानसँग कुरा गरेर पुनर्स्थापना गर्ने, दोस्रो– तेस्रो मुलुकमा व्यवस्थापनका लागि कति संख्या हुन्छन् यकिन गर्ने र तेस्रो– त्यसपछि पनि बाँकी रहेकालाई नेपालले नै व्यवस्थापन गर्ने गरी अध्ययन भइरहेको थियो । त्यसपछि सुन्नमा आयो– केही नक्कली शरणार्थी खडा गर्ने कोसिस हुँदैछ रे,’ ओलीले आफूलाई प्राप्त सूचना र त्यतिवेला दिइएको निर्देशन उद्धृत गर्दै भने, ‘अनि मैले त्यतिवेलै गृहमन्त्रीलाई बोलाएर यस्तो सुन्दै छु, के हो कुरा बुझेर रोक्नुस् । अनुसन्धान विभागलाई पनि बोलाएर राम्रोसँग खोजीनिती गर्न निर्देशन दिएको थिएँ, तर लगत्तै सरकारबाट हट्यौँ । त्यसपछिका कुरा के–के भए मलाई जानकारी भएन ।’
भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा व्यवस्थापनको सम्झौता गर्ने पहिलो व्यक्ति नै आफू भएको भन्दै ओलीले बाँकी दुई–चार हजारको पनि व्यवस्थापन गर्ने गरी अन्तर्राष्ट्रिय कमिटीसँग कुरा गरेरै त्यतिवेला अध्ययनको काम अगाडि बढेको सुनाए ।
‘भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा व्यवस्थापन गर्नेबारे नेगोसियसन गरेकै मैले हो । अमेरिकी सरकारसँग कुरा गरेर तेस्रो मुलुकमा व्यवस्थापन गर्न पठाइयो, त्यसपछि अहिले बाँकी भएका दुई–चार हजारलाई पनि के गर्ने भन्ने विषयमा अन्तर्राष्ट्रिय कमिटीसँग हाम्रो छलफल भएको थियो । त्यसक्रममा दुई–तीनवटा विकल्प दिइएको थियो,’ उनले भने, ‘एउटा विकल्प– आफ्नै देश भुटानमा पुनर्स्थापना गर्ने, उनीहरू आफ्नै मुलुकमा फर्कन पाउने । त्यस्तो नहुँदा तेस्रो मुलुकमा व्यवस्थापन गर्ने । कुनै प्रमाण फेला नपरेकालाई नेपालले नै व्यवस्थापन गराउने ।’
उता, एमाले उपमहासचिव विष्णु रिमालले भुटानी शरणार्थी प्रकरणमा कसैलाई पनि उन्मुक्ति दिन नहुने, तर यस्ता घटनालाई राजनीतीकरण गर्न नहुने पार्टीको धारणा रहेको बताएका छन् । ‘भुटानी शरणार्थी प्रकरणमा होस् वा अन्य कुनै, कानुनभन्दा माथि कोही हुँदैनन् । उन्मुक्ति कसैलाई पनि हुनुहुन्न,’ सामाजिक सञ्जालमा रिमालले भनेका छन्, ‘निर्दोष नफसून्, कोही दोषी नउम्किऊन् । छानबिन हुनुपर्छ, छानबिनमा सबैले सहयोग गर्नुपर्छ । यस्ता घटनालाई राजनीतीकरण गर्नुहुन्न । कानुनको पालना सबैले गर्नुपर्छ ।’
आफूलाई पक्राउ गर्न लागेको सूचना पाएपछि रायमाझी फरार भएको प्रहरीले जनाएको छ । बिहीबार बिहानैदेखि मोबाइल ‘स्विच्डअफ’ गरेर उनी ‘भूमिगत’ भएका छन् । प्रहरीले बुधबार बेलुका काठमाडौं विमानस्थलबाटै रायमाझीलाई पक्राउ गर्ने योजना बनाएको थियो । उनी सभामुख घिमिरेसँगै बुधबार भैरहवाबाट काठमाडौं फर्किने सूचना पाएर प्रहरी विमानस्थल पुगेको थियो । तर, पक्राउ गर्न टोली खटिएको सूचना पाएपछि रायमाझी टिकट ‘क्यान्सिल’ गरेर सम्पर्कविहीन भएका हुन् ।
स्रोतका अनुसार प्रहरीले पनि बिहीबार रायमाझीलाई पक्राउ गर्न चासो दिएको छैन । ‘उच्च तहबाट पिछा नगर्न आदेश आएको छ,’ एक प्रहरी अधिकारीले भने । ठगीमा संलग्न रहेको अभियोगमा रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले बुधबार साँझ नै बुटवलबाट पक्राउ गरेर काठमाडौं ल्याइसकेको छ । उनलाई बिहीबार अदालतमा उपस्थित गराएर प्रहरीले अनुसन्धानका लागि तीन दिन थुनामा राख्न म्याद लिएको छ ।
भैरहवाबाट काठमाडौं आउन काटिसकेको प्लेनको टिकट पनि क्यान्सिल गरे। ठिक त्यही समयमा उनका छोरा सन्दीप रायमाझीलाई प्रहरीले बुटवलबाट पक्राउ गर्यो।
नक्कल शरणार्थी प्रकरणमा जोडिएपछि छोरासँगै उनलाई पनि पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति पाइसकेको थियो।
पक्राउ पुर्जी जारी भइसकेपछि पनि कानुन कार्यन्वयनमा सहयोग गर्ने प्रतिक्रिया नेकपा एमालेका सचिवसमेत रहेका टोपबहादुरले सन्धिखर्कमै पत्रकारहरूलाई दिएका थिए।
रायमाझी आफैँ काठमाडौं फर्किन लागेकाले प्रहरीले दिउँसो उनलाई नियन्त्रणमा लिएन। साँझ भैरहवा वा काठमाडौं विमानस्थलबाटै पक्राउ गर्ने तयारी प्रहरीले गरेको थियो।
तर काठमाडौं फर्किन भैरहवा विमानस्थल आउँदै गर्दा उनी सम्पर्कविहीन बने। प्रहरीले बुधबारदेखि नै उनको खोजी जारी रहेको बताएको छ। तर बिहीबार बेलुकीसम्म पनि पक्राउ गर्न सकेको छैन।
उनका छोरा सन्दीप रायमाझी भने बिहीबार साँझ रुँदै हिरासत छिरेका छन्।
बिहीबार दिउँसो उनलाई जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि उनलाई उपस्थित गराइएको थियो। काठमाडौं परिसरले सन्दीपलाई पनि अरु थुनुवासँगै परिसरबाट बबरमहलस्थित अदालत पुर्याएको थियो।
अदालतले उनलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइसकेको छ। तर उनीहरुविरुद्ध संगठित अपराधमा अनुसन्धान भइरहेकाले प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ।
काठमाडौं परिसरको हिरासत छिर्दै गर्दा उनी डाँको छाडेर रोएका थिए। परिसरका एक अधिकारीले भने, ‘जब गाडीबाट झारेर हिरासत कक्षतिर लैजान थाल्यौँ, उनी पूरै डाको छोडेर रुन थाले।’
सन्दीपविरुद्ध पनि नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोप छ।
उनका नाममा चार वर्षअघि नै काटेको डेढ करोड रूपैयाँको चेकसमेत फेला परेको छ। केही रकम बुझाएको पनि प्रमाण फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
टोपबहादुरले पनि ठगी गरेको पुष्टि हुने प्रमाण फेला परिसकेको प्रहरीको दाबी छ।
सो घटनामा अरू धेरैजना अनुसन्धानकै दायरामा रहेको प्रहरीले जनाएको छ । अरू थप १०–११ जना पक्राउ पर्न सक्ने जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले बताए । प्रहरीले ठगीका साथै संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार अन्य उच्चपदस्थको पनि ठगीमा संलग्नता रहेको संकेत मिलेको छ ।
पक्राउ परेकामध्ये सानु भण्डारी र केशव दुलालले आफूहरूलाई सघाउने व्यक्तिहरूको प्रमाणसहित पोल खोलेका छन् । तर, नाम खुलाएकामध्ये केही व्यक्तिमाथि मात्र पक्राउ पुर्जी जारी भएको छ । अन्य व्यक्तिहरूको हकमा प्रमाण संकलन भइरहेको प्रहरी अधिकारी बताउँछन् ।







प्रतिक्रिया दिनुहोस्