काठमाडौं, १६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रवि लामिछानेले आफू गृहमन्त्री छँदा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीका विषयमा दिएको अभिव्यक्तिसँग बाझिने कुरा बताएका छन्।
गृहमन्त्री छँदा फरार सांसद कोइरी कहाँ छन् भन्ने सम्बन्धमा कुनै जानकारी नभएको बताएका उनले सांसदका रूपमा प्रतिनिधिसभाको शुक्रबारको बैठकमा भने यसबारे आफूलाई गृहमन्त्री छँदा नै थाहा भएको बताए। बैठकमा उनले भने, ‘यो मेरा लागि पेचिलो विषय हो। यसै विषयलाई लिएर मैले आलोचना खेपेको छु। उहाँ ९लक्ष्मी कोइरी० बिरामी हैन, फरार अभियुक्त हो। फरार रहँदा उहाँलाई उहाँकै सालाले भगाएको र त्यहाँ (भारत) को प्रहरीले नियन्त्रणमा लिएको तस्बिर मसँग छ।’
तर लामिछानेले माघ ५ गते गृहमन्त्रीका रूपमा प्रतिनिधिसभा बैठकमा भनेका थिए, ‘म यहाँहरूलाई के जानकारी गराउन चाहन्छु भने, विधि र पद्धतिभन्दा बाहिर गएर गृह मन्त्रालय एक कदम, एक इन्च पनि बाहिर निस्किँदैन। म यहाँहरूलाई र यो सम्मानित संसद्लाई यसको ग्यारेन्टी दिन चाहन्छु। त्यसको एउटा प्रक्रिया छ, त्यो प्रक्रियामा कसैले दबाब र प्रभाव पार्नु हुने छैन भन्ने कुराको जानकारी यसअगाडि पनि सम्मानित संसद्मा गराइसकेको छु।’
लामिछानेले शुक्रबार भने कोइरीका विषयमा आफूलाई पहिला नै जानकारी रहेको दाबी गरे। उनले आफू गृहमन्त्री रहेका बेला अभियुक्तका रूपमा कोइरीको खोजी गर्दा उनी बिरामी नभई फरार अवस्थामै भारत पुगेको बताए।
उनले भने, ‘उहाँ बिरामी हैन, फरार अभियुक्त हो। उहाँ भाग्नुभएको अभियुक्त हो।’ उनले भारतबाट कोइरीको साला पर्नेले आफूलाई मोबाइलमा तस्बिर समेत पठाएको बताए। ‘मसँग उहाँ भागेर जानुभएको ठाउँ, त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको तस्बिरसहित छ,’ उनले भने, ‘सम्बन्धित ठाउँमा म तस्बिर उपलब्ध गराउन सक्छु। मैले यसलाई सार्वजनिक गर्न मिल्दैन।’
संसद् बैठकमै लामिछानेले फरार अभियुक्तलाई बिरामी भनेर लोकतन्त्रको भद्दा मजाक नगर्न आग्रह गरे। उनले भने, ‘यो हास्यास्पद शृंखला बन्द गर्नुपर्छ। अब नयाँ पुस्ता पनि राजनीतिमा आएको छ। यसकारण राजनीतिका नाममा लाजनीति कमसेकम यो संसद्मा नचलोस्।’
लामिछानेले अहिले दिएको अभिव्यक्तिसँग गृहमन्त्री छँदाको अभिव्यक्ति बाझिएको देखिन्छ। लामिछाने गृहमन्त्री भएकै बेला फरार सांसद कोइरी पटकपटक संसद् बैठकमा उपस्थित भएका थिए।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पुस २६ गते विश्वासको मतसमेत दिएका थिए। लामिछाने गृहमन्त्री भएका बेला कोइरीलाई पक्राउ नगरेको विषयमा चर्को आलोचना भएको थियो।
उक्त आलोचना पन्छाउन उनले ‘कोइरी फरार रहेको, प्रहरीले खोजी गरिरहेको’ भन्ने प्रतिक्रिया दिएका थिए। यस्तै सञ्चारकर्मीले गरेको एक सवाल–जवाफमा उनले ‘कोइरी कहाँ छन्रु भन्ने थाहा नभएकैले पक्राउ नपरेको’ भन्दै ‘थाहा भए सूचना दिनुस्, तत्कालै पक्राउ गर्छौं’ भनेका थिए।
माघ ५ गते सभामुखको निर्वाचन हुँदा पनि फरार भनिएका कोइरी प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका थिए। त्यहीं बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नियमापत्ति जनाउँदै तत्कालीन गृहमन्त्री लामिछानेमाथि कटाक्ष गरेका थिए। त्यसपछि लामिछाने झन् आलोचना भयो।
आलोचनाको प्रतिरक्षास्वरूप गृह मन्त्रालयले माघ ६ गते एक विज्ञप्ति जारी गर्यो। जसमा गृहमन्त्री लामिछानेले पटकपटक कोइरीलाई पक्राउ गर्न दिएको निर्देशन प्रहरीले कार्यान्वयन नगरेको भन्ने आशय थियो।







प्रतिक्रिया दिनुहोस्