ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विभिन्न देशका राष्ट्रगान गाइरहँदा …


एबीसी / संवाददाता
चैत्र २६, २०७९ आईतबार  १० : ०१ बजे

गण्डकी, २६ चैत । चन्द्र–सूर्य अंकित झन्डासहित झोला बोकेर हिजोआज फेवा किनारतिर हिँडिरहेका भेटिन्छन्, विश्व राष्ट्रगान यात्री रामजी नेपाली । फेवाताल छेउको पैदलमार्गमा उभिएर राष्ट्रगान गाउनु उनको दैनिकीजस्तै बनेको छ ।

पर्यटकीय याम चलिरहेकाले यतिबेला पोखरामा आगन्तुकको चहलपहल छ । गायक नेपालीले यही मौका छोपेर देशी–विदेशीसामु आफ्नो कला–प्रतिभा पस्किरहेका छन् । बाहिरी मुलुकका पर्यटकलाई लक्ष्य गरी फेवाताल किनारमा पुगेर राष्ट्रगान सुनाउने गरेको उनी बताउँछन् ।

सधैँझैँ शुक्रबार पनि हल्लनचोक नजिकैको पैदलमार्गमा उनी पुगे। छेवैमा राष्ट्रिय झन्डा फहराइरहेको थियो । यन्त्र र ध्वनिको प्रबन्ध मिलाएपछि नेपाली राष्ट्रगानको धुन बज्यो । उनले राष्ट्रगान गाए । नेपालको राष्ट्रगानबाट सुरु भयो, उनको प्रस्तुतिको सिलसिला । सन्ध्यापख फेवातालको चिसो सिरेटो छल्दै उनले विभिन्न देशका राष्ट्रगान गाइरहे । प्रकृतिको सौन्दर्यपान गर्दै पर्यटक ओहोर–दोहोर गरिरहेका थिए ।

विदेशी पनि बाक्लै देखिन्थे । देशभित्र जुन ठाउँ पुग्दा पनि उहाँले पहिले नेपालको राष्ट्रगान गाउँछन् । त्यसपछि छिमेकी देश भारत, चीन हुँदै अन्य देशको । शुक्रबार पनि उनले त्यसै गरे । भारतको राष्ट्रगान गाउन सुरु गर्दा नगर्दै उनको छेवैमा दुई भारतीय पर्यटक टुप्लुक्क आइपुगे । हिँडिरहेका बेला देशको राष्ट्रगानको धुन सुनेपछि उनीहरु टक्क रोकिए । नेपालीले भारतको राष्ट्रगान गाउन थालेपछि दुवै उभिए र राष्ट्रगानको सम्मान गरे ।

गायक नेपालीले अनेक भाषामा सम्बन्धित देशको राष्ट्रगान गाइरहँदा मानिसहरूले चाखपूर्वक श्रवण गरे । कतिले तस्बिर लिए । कोहीले मोबाइलमा चलदृश्य कैद गरे । उनको प्रस्तुतिले नेपालीभन्दा विदेशी पर्यटकको ध्यान तानिरहेको थियो । बीचतिर उनले अमेरिकाको राष्ट्रगान गाउन खोजिरहेका थिए ।

यत्तिकैमा बेलायती पर्यटकको समूह नै त्यहाँ आइपुग्यो । तीमध्येका केहीले नेपालीको नजिकै गएर आफ्नो देशको राष्ट्रगान गाउन अनुरोध गरे । उनीसँगै स्वर मिलाएर उनीहरूले पनि आफ्नो देशको राष्ट्रगान गाए । अर्कै महादेशमा आफ्नो देशको राष्ट्रगान त्यो पनि विदेशी गायकले गाएको देखेर उनीहरु दंग परे ।

नेपालबाट शान्ति, विश्वबन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावनाको सन्देश दिन नेपाली विश्व राष्ट्रगान यात्रामा निस्किएका हुन् । कोभिड–१९ महामारीयता बाहिरी देशको यात्रा प्रभावित बनेपछि उनी अहिले नेपालकै विभिन्न ठाउँ घुमिरहेका छन् ।

“पर्यटनको राजधानी सहर भएकाले पछिल्लो समय पोखरालाई आधार बनाएर सङ्गीत साधना र विश्वयात्राको अभियानलाई अगाडि बढाइरहेको छु”, उनले भने, “अहिले पर्यटकीययाम भएकाले राष्ट्रगान प्रस्तुतिका लागि दैनिकजसो बेलुकापख लेकसाइड पुगिरहेको हुन्छु ।”

नेपाललाई विश्व बजारसँग जोड्ने र पर्यटन प्रवद्र्धन गर्ने ध्येय लिएर आफू हिँडिरहेको नेपालीले सुनाए । सबै देशका राष्ट्रगान गाउँदै विश्वयात्रा गर्ने लक्ष्य कठिन भए पनि विचलित नभई साधना र कर्ममा तल्लिन रहेको उनको भनाइ छ ।

उनले अहिले एक सय ५० देशका राष्ट्रगान गाउँछन् । विश्वयात्राका क्रममा उनले हालसम्म ११ देशको भ्रमण गरिसकेका छन् । नेपाली तीन महिनाअघि मात्र संयुक्त अरब इमिरेट्स (युएई) पुगेर आएका थिए । कोभिड–१९ यता उनको पहिलो विदेशयात्रा थियो त्यो । उनले विश्वयात्राका लागि सहयोगको पनि याचना गर्दै आएका छन् । इष्टमित्र र शुभेच्छुकको सहयोगबाट केही देश पुग्न उनी सफल भएका हुन् ।

उनको पहिलो विदेशयात्रा सन् २०१७ मा बेल्जियमबाट सुरु भएको थियो । बेल्जियमसँगै फ्रान्स, स्पेन र नेदरल्यान्डका विभिन्न सहर र सार्वजनिकस्थलमा समेत राष्ट्रगान गाएको उनले स्मरण गरे । “आइफिल टावरमा पुगेर फ्रान्सको राष्ट्रगान गाएँ, प्रवासी नेपालीहरूसँगको समन्वयमा म युरोप पुगेको थिएँ”, नेपालीले विगत सम्झिए । तीन वर्षअघि भारत पुग्दा उनले चेन्नइदेखि हिमाञ्चल प्रदेशसम्मको यात्रा गरेका थिए ।

नेपालीले जुन देश पुग्दा पनि पहिले नेपालको र त्यसपछि मात्र सम्बन्धित देशको राष्ट्रगान गाउने गरेका छन् । “कार्यक्रमको प्रकृतिअनुसार एकै ठाउँमा धेरै देशका राष्ट्रगान पनि गाउने गर्छु”, नेपालीले भने । सन् २०२५ भित्र एक सय ९५ देशका राष्ट्रगान गाउँदै विश्वका २३२ वटै देश पुग्ने उनको लक्ष्य भने पछाडि धकेलिएको छ । कोभिड–१९ महामारी, आर्थिक अभाव आदि कारणले यात्रामा अवरोध आएको नेपालीले बताए ।

जस्तै संकट आए पनि नयाँ–नयाँ देशको राष्ट्रगान संकलन र गायन अभ्यासलाई भने आफूले नछाडेको उनको भनाइ छ । “मैले दायाँबायाँ केही सोचेको छैन, म यसैमा साधनारत छु, राम्रो समयको पर्खाइमा छु, आत्तिएको छैन”, नेपालीले भने ।

बागलुङको बागलुङ नगरपालिका–६ भिरलाङ्खुरीमा जन्मिएका नेपालीसँग सबैभन्दा धेरै देशका राष्ट्रगान गाउन सक्ने गायकका रूपमा विश्व कीर्तिमान राख्ने सपना छ । त्योभन्दा बढी छ, बुद्ध र सगरमाथाको देशका रूपमा नेपालको चिनारी देशदेशान्तर फैलाउने हुटहुटी ।

“मेरो विश्वयात्राको उद्देश्य नेपालको पर्यटन प्रवद्र्धन गर्नु पनि हो”, उनले भने, “संसारभरका मानिसलाई एकपटक नेपाल घुम्न आउनुस् भनेर सन्देश दिन चाहन्छु ।” विश्वयात्राका लागि अहिलेसम्म कतैबाट कुनै सहयोग नआएको उनले बताए ।

नेपालीले ‘गुगल’, ‘युट्युब’जस्ता माध्यमबाट विभिन्न देशका राष्ट्रगान र तिनका ‘ट्रयाक’ खोजेर गाउने गर्दै आएका छन् । एक सय ९५ देशका राष्ट्रगान र तिनका धुन संकलन गरिसकेको उनको भनाइ छ । अनेक भाषाका राष्ट्रगान सही ढंगले गाउनु चुनौतीपूर्ण विषय भएको उनको अनुभव छ ।

“संगीत, भाषा, उच्चारणदेखि धेरै पक्ष ख्याल गर्नुपर्ने हुन्छ, एउटा राष्ट्रगान गाउन सक्ने हुन लामो अभ्यास र प्रक्रिया पार गर्नुपर्छ”, नेपालीले भने । उनले सबै भाषाका गीतलाई नेपाली रोमनमा उतारी गाउने गर्छन् । ‘वर्ष दिनको मेला’ (२०५३), ‘जवानीमा तानेको’ (२०५९), ‘भिरको टुनी’लगायत गीतमा स्वर दिएका गायक नेपालीले विश्वयात्रापछि पुनः मूलधारकै संगीत कर्ममा फर्कने बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जितेन्द्र देवको पुनः एमाले बहिर्गमन : व्यक्तिवाद, मधेश राजनीति र एमालेको आन्तरिक संकट

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

सम्बन्धित

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

पूर्वमन्त्री जितेन्द्र देवले त्यागे एमाले

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

पत्रकार दिनेश सिटौलाको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com