रुपन्देही । लुम्बिनी प्रदेशसभाले लामो समय विद्युत महसुल नतिरेपछि मंगलबार विद्युत् प्राधिकरणले सदन सुरू हुनु केही समयअगाडि लाइन काटिदियो ।
एक महिना ३ दिनपछि सुरू भएको पहिलो अधिवेशनको आठौं बैठकमा शून्य समयमा बोल्न सांसदहरू तयारी भएर सदनमा प्रवेश गरिसकेका थिए । विद्युत काटिएकै कारण ४५ मिनेट ढिलो जेनेरेटरको चलाएर बैठक सञ्चालन गरिएको थियो ।
नेपाल विद्युत प्राधिकरण लमही शाखाले प्रदेश सरकारले विद्युत महशुल नबुझाएको भन्दै लाइन काटेको थियो । तर, धेरै सांसदले सदन ढिला हुनुको कारण पत्तोसमेत भएन ।
लाइन काटिएका कारण सदन ढिलो भएको जानकारी पाएका प्रदेश सांसदले यसलाई मसला बनाए । तर, किन काटिएको हो भन्ने बुझेनन् । बैठकमा प्रदेशसभा सदस्य दिपेन्द्र पुनले विद्युत काटिएका कारण आफूहरूको अपमान भएको र यसको जवाफ प्रदेश सरकारले दिनुपर्ने जिकिर गरेका थिए ।
‘यस्तो अपमान सहन सकिँदैन पैसा तिर्नु थियो, अस्तिको दिन काट्या भए हुन्थ्यो । पैसा तिर्नु थियो, पर्सिको दिन काट्या भए हुन्थ्यो ‘, पुनले बैठकमा भने ।
अर्का सांसद बसिउद्दिन खाँले विद्युतको सामान्य महसुल नतिरेर सदनको मानहानी गरेको आरोप लगाउँदै यसको जवाफ मुख्यमन्त्रीले दिनुपर्ने बताए ।
नेपाल विद्युत प्राधिकरण लमही शाखाका कार्यालय प्रमुख जगन्नाथ लामिछानेले प्रदेश सरकारले ७ लाख ६३ हजार ३ सय ५० रुपैयाँ विद्युत महसुल बुझाउन बाँकी रहेको र यसमा एक लाख २१ हजार ६ सय ५२ रूपैयाँ हर्जना थपिएको जानकारी दिए ।







प्रतिक्रिया दिनुहोस्