ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाथीभरामा बलि प्रथा घट्दै, वन्यजन्तुको संरक्षणमा पनि सहयोग


एबीसी / संवाददाता

ताप्लेजुङ, १ चैत । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा केही वर्ष अघिसम्म दैनिक सयौँ पशुको बलि चढाउने गरिन्थ्यो । देवीलाई बलि चढाउँदा देवी खुसी हुने र आफूले चिताएका इच्छा, आकांक्षा सबै पूरा हुने विश्वासले यहाँ आउने ८० प्रतिशतभन्दा बढी भक्तजनले पशुको बलि चढाउँथे ।

पाथीभराका पुजारी डिल्ली आचार्यका अनुसार पाथीभराको दर्शनको सिजन मानिने (बडादसैँ, रामनवमी) का समयमा कम्तीमा पाँच सयदेखि एक हजार पशुको बलि चढाउने गरिन्थ्यो । स्वदेश तथा विदेशबाट आएका तीर्थयात्रीले बलि चढाउन पशुपन्क्षी लिएर आउँथे ।

तर, अहिले यो चलन क्रमशः घट्दै गएको छ । हिजोआज विरलै मात्र पशु बलि दिने गरिएको छ । “पहिला सिजनका बेला दिनमै पाँच सयदेखि हजार बाह्र सयसम्म पशु बलि चढाइन्थ्यो, तर अहिले बढीमा १५–२० वटा बलि चढाइन्छन्, यसको सट्टामा भक्तजनले नरिवल फुटाएर पूजाआजा गर्नुहुन्छ, फलफूल चढाउने, लाखबत्ती बाल्ने चलन बढेको छ”, आचार्यले भने ।

बलि चढाउँदा पशुपन्क्षीको रगतले राताम्य हुने मन्दिर परिसर पछिल्लो समयमा सुन्दर र सफा पनि हुन थालेको छ । रगतका कारण हुने फोहोर र दुर्गन्धमा कमी हुनुका साथै मन्दिर अवस्थित वरपरको भाग सफा र सुन्दर भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ।

पछिल्लो समय प्राणीको हत्या नगरी पनि धर्मकर्म गर्न सकिन्छ भन्ने चेतनाको विकासले पनि बलि प्रथा हराउँदै गएको पाथीभरा दर्शनका क्रममा आउनुभएका झापाका विष्णुप्रसाद आचार्यले बताए । प्रेम, सद्भाव र पुण्यको सन्देश दिने धर्मका नाममा हुने बलि प्रथा पूर्णरूपले निर्मुल हुनु नै राम्रो हुने उनको तर्क छ । धर्मका नाममा निर्दोष पशुको बलिप्रथा अन्त्य गर्नुपर्छ भन्ने समाजमा आवाजहरू उठ्न थालेकाले विस्तारै न्यूनीकरण हुँदै जाने कतिपयले बताउने गरेका छन् ।

यता पाथीभरा क्षेत्रमा बलिप्रथा न्यूनीकरण हुँदै जाँदा पाथीभरा क्षेत्रमा छाडा कुकुर पुग्ने क्रम केही मात्रामा घटेको छ । रेडपाण्डाको बासस्थान मानिने पाथीभरा क्षेत्रमा समय समयमा छाडा कुकुरको आक्रमणमा रेडपाण्डा पर्थे । अहिले छाडा कुकुर केही घटेकाले र भएकालाई समेत नियन्त्रणमा राख्ने गरिएकाले रेडपाण्डा कुकुरको आक्रमणबाट केही हदसम्म बच्न थालेको रेडपाण्डा संरक्षणको क्षेत्रमा काम गर्दै आएका रमेश राईले बताए ।

बलि चढाएको पाठापाठीको मासु प्रशस्त हुने हुँदा गाउँघर र गोठबाट अत्यधिक कुकुरहरू पाथीभरा क्षेत्रमा पुग्थे । अहिले केही मात्रामा घटेको राईको भनाइ छ । उनका अनुसार सफा गर्ने क्रममा फालिने मासुजन्य फोहोर, खाएर बचेको मासु जताततै फालिने हुँदा कुकुरहरू पाथीभरा क्षेत्रमा जान पल्किने गरेका थिए । यसरी बलिका नाममा निर्दोष पशु हत्या घट्नुले पाथीभराको सुन्दरता मात्रै बढेको छैन, स्थानीयस्तरमा पाइने वन्यजन्तुको समेत संरक्षण भएको छ ।

यसरी सुरु भयो बलिप्रथा
बलि प्रथा किन र कसरी सुरु भयो भन्ने विभिन्न तर्कहरू होलान् । तर, यहाँ बलि चढाउने प्रथाको सुरुवात बारे केही फरक तर्कहरू पाइन्छन् । देवीको उत्पत्तिबारे एउटा किंम्वदन्ती छ । किंम्वदन्तीअनुसार परापूर्वकालमा एउटा भेडीगोठ थियो । भेडाको सङ्ख्या हजारौँ भएकाले गोठालाहरू पनि थुप्रै थिए । भेडीगोठलाई विभिन्न खर्क (चरन क्षेत्र) मा सार्दै लैजाने क्रममा गोठालाहरूले मन्दिर रहेको क्षेत्रमा पुर्याए । जुन बेला त्यहाँ देवी अवस्थित रहेको भन्ने गोठालाहरूलाई थाहा थिएन । पाथीभराको शिरमा भेडी गोठ लिएर पुगेका गोठालाहरू गोठ बनाएर बास बसे । भोलिपल्ट बिहान उठेर हेर्दा गोठालाले एउटा पनि भेडा देखेनन् । साँझ जम्मा भएका भेडा एकाएक हराएको पाएपछि गोठालाहरू अचम्ममा परे । उनीहरूले दिनभर भेडा खोजी गरे तर कुनै अत्तोपत्तो पाएनन् ।

दिनभर जंगल घुमेर खोजी गर्दा नभेटेपछि साँझ निराश हुँदै बासस्थानतर्फ फर्किएर सुते । राति सपनामा सबै गोठालाहरू मध्येका एकले साक्षात कालीको रूप देखेछन् । सपनामै ती देवीले ‘तिमीहरू नआत्तिनु, मलाई भेडाको बलि दिनु, हराएका तिम्रा भेडा पाउने छौँ र तिम्रो मनोकामना पनि पूरा हुनेछ’ भनिन् । देवीको यस्तो कुरा सुनेपछि गोठालाले पनि ‘हुन्छ, म तपाईंले भनेबमोजिम गर्छु’ भनेछ । त्यतिकैमा ती गोठाला निन्द्राबाट बिउँझिए । यसो हेर्दा आफ्ना हराएका सबै भेडा देखे । त्यसपछि गोठालाले भेडाको बलि दिएर त्यहाँ पूजाआजा गरी अन्यत्रै गोठ सारे ।

यसरी भएको घटना जताजतै फैलियो । त्यहाँ मानिसहरू पूजाआजा गर्नका लागि जान थाले । गोठालालाई सपनामा देवीले भेडाको बलि दिनु भनेर भनेकाले सबैले बलि दिएर पूजाआजा गर्न थाले । महाकाली, भद्रकाली, सिद्धकाली, स्वेतकाली र रक्तकाली यी पाँच वटा रूप भएकी देवी भएकाले पञ्चकन्या भगवती देवीको रूपमा मान्ने गरिएको छ ।

पाथीभरामा बडादसैँ तथा नवरात्रको समयमा विशेष पूजाआजासहित बलि चढाउने परम्परा छ । पाथीभरा देवीले भक्तजनले चढाएको बलि स्नेहपूर्वक लिने जनविश्वास रहिआएको छ । तर दर्शनार्थीले बलि नै चढाउनुपर्छ भन्ने अनिवार्य छैन । पाथीभरामा यसरी पूजा गर्नु पर्छ भन्ने लिखित पद्धति पनि छैन । मौखिक आधारमा नै चलेको छ । चलिआएका दुई प्रकारका पद्धति छन् । भगवतीको पूजा गरेर चण्डी पाठ गर्ने, हवन गर्ने शास्त्रीय पद्धति र बलि दिएर पूजा गर्ने पद्धति चलिआएको पाइन्छ । पाथीभराको महत्त्व र पाथीभराप्रति राखिने आस्था र विश्वास वर्षौं पहिले जस्तो थियो अहिले पनि उत्तिकै छ । यहाँ सिजनमा दैनिक हजारौँ स्वदेशी तथा विदेशी तीर्थयात्री आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पहिला विमानस्थल पुग्ने सडक मर्मत गर्नुस् : मन्त्री श्रेष्ठ

काठमाडौँ, १३ चैत । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले लैनचौर–बालाजु–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको सडक पहिला मर्मत गर्न निर्देशन दिएका छन् । काठमाडौँ उपत्यका

एकै स्थानमा भेटियो ९ वटा बेवारिसे बम

कावासोती, १३ चैत । पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा नौ वटा बम फेला परेका छन् । आइतबार दिउँसो बारीमा बम देखेपछि

एकै दिन १६ जनमा कोरोना सङ्क्रमण

काठमाडौँ, १२ चैत । कोरोना भाइरसको सङ्क्रमण आज पनि बढेको छ । यसअघि चैत ९ गते १७ जनामा देखिएको सङ्क्रमण आज फेरि १६ जनामा देखिएको

सम्बन्धित

हटिया–ताराखोला सडक : म्याद सकियो, सकिएन कालोपत्र

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनालले हेरे ‘छक्का पञ्जा ४’

कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?

बल्खु खोलामा नवजात शिशुको शव फेला

संघीयता स्थापनापछि जनताले विकास अनुभूति गर्न पाए : मुख्यमन्त्री कार्की

सत्य निरुपणसम्बन्धी विधेयक स्वीकृत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com