अधिकांश मानिस टिकटकको लतमा फसेका छन्। हाँस्न–हँसाउन, खेल्न–खेलाउन, नाच्न, गाउन, ज्ञान बटुल्न, आरोप प्रत्यारोप यी सबैका लागि टिकटकको प्रयोग भइरहेको छ। विश्वका ४० वटा भाषामा टिकटक उपलब्ध छ । प्रयोक्ताले टिकटकलाई कलाकारिता प्रदर्शन गर्ने र व्यक्तिगत धारणा सार्वजनिक गर्ने, व्यापार व्यवसाय प्रवर्द्धन गर्ने थलोको रूपमा प्रयोग गरिरहेका छन् । त्यसैले टिकटकमा सक्रिय हुनेको संख्या तुलनात्मक रूपमा हरेक वर्ष बढिरहेको छ । सन् २०२२ अन्तिमका चार महिनाको तथ्यांक हेर्दा टिकटकका सक्रिय प्रयोगकर्ताको संख्या मासिक एक खर्ब नाघेको छ ।
चिनियाँ कम्पनी बाइटडान्सले सन् २०१६ को सेप्टेम्बरमा भिडियो सेयरिङ एप टिकटक चीनमा सार्वजनिक गरेको थियो । चिनियाँ बजारमा डाउयीन भनेर चिनिने टिकटक सन् २०१७ मा मात्रै अन्तर्राष्ट्रिय बजारमा उपलब्ध हुन थालेको हो। टिकटक र डाउयीनमा उस्तै फिचर भएपछि यी सम्पूर्ण रूपमा उस्तै भने होइनन् । बजारको अवस्था हेरेर फिचर हेरफेर गरिएका छन् । डाययीन पनि चीनमा छुट्टै सञ्चालनमा छ । पछि विश्व बजारमा प्रयोगकर्तामाझ चर्चित म्युजिकल्लीलाई पनि बाइटडान्सले सन् २०१८ मा टिकटकमा गाभेको थियो ।सन् २०२० मा मात्रै टिकटकको बजार मूल्य ५० अर्ब डलर रहेको लगानीकर्ताहरूको दाबी थियो। अहिले पनि टिकटकको नेटवर्थ ७५ अर्ब अमेरिकी डलर रहेको बताइएको छ ।भिडियोको सानो अंश राखेर नाच्न र गाउनका लागि प्रयोग भएको टिकटकमा अहिले लामो भिडियो अपलोड गर्न मिल्छ भने अधिकांश फिचर परिमार्जित हुँदै आएका छन्। जसले गर्दा पनि ठूलो संख्यामा मानिस यसप्रति आकर्षित भइरहेका छन्।बाइटडान्सका प्रमुख कार्यकारी अधिकृत झाओ यिमीङले समाचार एकत्रित गर्ने प्लेटफर्म ‘ताओतियाओ’मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेका थिए। पछि यस्तै प्रकारको एआई उनले टिकटकमा प्रयोग गरे जसले प्रयोगकर्ताका रुचिका सामग्री छनोट गरी सान्दर्भिक भिडियोहरू देखाउन मद्दत ग¥यो । जसले अन्तर्राष्ट्रिय प्रयोगकर्ताहरूको रुचि बढायो र अप्रत्याशित सफलता हासिल गर्न पुग्यो । तर, सन् २०१९ र २०२० बाट टिकटकको क्रेज बढ्न थालेको हो। सन् २०१९ मा ६९ मिलियन र २०२० मा ८५ मिलियन मानिसले टिकटक डाउनलोड गरेका थिए । टिकटक सन् २०१० पछि सबैभन्दा बढी डाउनलोड भएको सातौँ मोबाइल एप बनेको थियो । विशेष गरी पश्चिमा सामाजिक सञ्जालहरूमा फेसबुकको बलियो प्रतिद्वन्द्वीका रूपमा उभिएको थियो।टिकटक अहिलेसम्म ३ बिलियनभन्दा बढी पटक डाउनलोड भएको छ। दैनिक ६०० मिलियन सक्रिय प्रयोगकर्ता भएको टिकटकका अधिकांश प्रयोगकर्ता ३० वर्षमुनिका र विशेष गरी २० वर्ष आसपासका व्यक्ति छन्।
टिकटक चीनबाहिर अमेरिका, इन्डोनेसिया र ब्राजिलमा बढी लोकप्रिय रहेको बिजनेस अफ एप्सले उल्लेख गरेको छ । तर प्रतिबन्ध लाग्नु पहिले भारतमा मात्रै १९० मिलियन अर्थात् चीनपछि सर्वाधिक प्रयोगकर्ता रहेका थिए।प्रयोगकर्तामध्ये अधिकांश महिला रहेको टिकटक पछिल्लो किशोरकिशोरी र नाच्नका लागि मात्रै प्रयोग हुने भनिएको ‘स्टिग्मा’ हराउँदै गएको छ । चौतर्फी नाम कमाए पनि टिकटक आलोचनाबाट भने अछुतो बन्न सकेन । समाजमा अनैतिक क्रियाकलाप बढाएको र नकारात्मक प्रभाव पारेको भन्दै चर्चाको शुरूआतमै भारतले सन् २०१९ मा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। त्यसपछि प्रतिबन्ध फाट्टफुट्ट खुकुलो बनेको थियो। तर, सन् २०२० मा चीनसँगको भारतीय सीमामा चिनियाँ र भारतीय सेनाबीच भिडन्त भएपछि रुष्ट भारतले टिकटकसहित विच्याटलगायत दर्जनौँ चिनियाँ मोबाइल एपमाथि पूर्णरूपमा प्रतिबन्ध लगायो । भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । त्यतिबेला उसले गोपनीयता र सुरक्षा चासोलाई कारण देखाउँदै प्रतिबन्ध लगाएको थियो।भारतीय प्रतिबन्धपछि केही समय डाउनलोड सुस्त भएको टिकटक केही समयमै सबैभन्दा बढी डाउनलोड हुने एप बन्यो। यद्यपि, यसका बेफाइदाहरूको चर्चा गर्दै विभिन्न देशले चासो राख्न थाले।
यसै क्रममा अनैतिक क्रियाकलापलाई बढवा दिएको भन्दै पाकिस्तानले सन् २०२० अक्टोबरयता अस्थायी रूपमा ४ पटकसम्म टिकटकमाथि प्रतिबन्ध लगाएको थियो।त्यसपछि टिकटक पश्चिमा देशहरूमा लोकप्रिय बनिरहेको थियो। तर, यसैबीच ताइवान, अमेरिका, क्यानडा र युरोपेली मुलुकले एकपछि अर्को गर्दै प्रयोगमा प्रतिबन्ध लगाएका छन् । यस्तै, अफगानिस्तानमा तालिबानले पनि सन् २०२१२ देखि टिकटकमाथि प्रतिबन्ध लगाएको छ । गोपनीयता र साइबर सुरक्षा चासोलाई ध्यान नदिएको भन्दै अमेरिका र क्यानडाले यसै साता टिकटकमाथि प्रतिबन्ध लगाए। चिनियाँ कम्पनी बाइटडान्सको आफ्नो उत्पादन टिकटकका कुनै पनि विवरण चिनियाँ सरकारसँग सेयर नगरेको दाबी गर्दै आएको छ। साथै, अन्य सामाजिक सञ्जालहरूभन्दा बढी प्रयोगकर्ता र विवरण आफूसँग रहेको आफ्नो कम्पनीले स्वतन्त्र रूपमा व्यवस्थापन गर्दै आएको बाइटडान्सले दोहो¥याउँदै आएको थियो। तर धेरै मुलुक बाइटडान्स र चीन सरकारबीचको सम्बन्धबारे सशंकित बनिरहेका थिए।यस्तै, ताइवानले सन् २०२२ मा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। मोबाइल फोन, कम्प्युटरसहित कुनै पनि सरकारी डिभाइसहरूमा चिनियाँ सफ्टवेयरको प्रयोगमाथि प्रतिबन्ध लगाइएको छ। ताइवानमा टिकटक, डाउयीन र चिनियाँ जीवनशैली सम्बन्धी सबै एपहरू प्रतिबन्ध छन् ।
यस्तै, अमेरिकी सरकारले सुरक्षा चासोलाई प्राथमिकता दिएको भन्दै यसै सातादेखि ३० दिनभित्र सबै सरकारी डिभाइसहरूबाट टिकटक डिलिट गर्न भनेको छ । यो प्रतिबन्ध केबल सरकारी कामकाजका उपकरणहरूमा लागू हुने बताइएको छ। अमेरिकी प्रतिबन्धबारे प्रतिक्रिया जनाउँदै चीनले राज्य शक्तिको दुरुपयोग गर्दै अरू देशमा कम्पनीहरूमाथि प्रतिबन्ध लगाउने कार्य गलत भएको बताएको थियो। हालसम्म अमेरिकाका २५ भन्दा बढी राज्यहरूका सरकारी उपकरणहरूमा टिकटक एपमाथि प्रतिबन्ध लगाइसकिएको छ।अमेरिकाले प्रतिबन्ध लगाउने निर्णय गरेसँगै क्यानडाले पनि सोमबारदेखि सरकारी डिभाइसहरूबाट टिकटक हटाइने घोषणा गरेको थियो। टिकटकबाट गोपनीयता र सुरक्षामा अस्वीकार्य जोखिम बढेको भन्दै सबै कर्मचारीहरूले भविष्यमा पनि डाउनलोड गर्न नमिल्ने गरी प्रतिबन्ध लगाउन सरकारले निर्देशन दिएको छ।यसैबीच, युरोपेली युनियन (इयू) का तीन वटै महत्त्वपूर्ण अंगहरू युरोपेली संसद्, युरोपेली आयोग र युरोपेली परिषद्लगायत सबैले आफ्ना कार्यालयका सबै कर्मचारीको डिभाइसमा टिकटक प्रतिबन्ध लगाएका छन्। मंगलबार नयाँ निर्णय गर्दै इयूले यो नियम मार्च २० बाट लागू हुने बताएको छ। साथै, आफ्ना निजी डिभाइसबाट पनि टिकटक हटाउन आग्रह गरिएको छ।टिकटकमाथिको प्रतिबन्धप्रति प्रतिक्रिया दिँदै बेइजिङले यस्तो कार्यले युरोपसँगको व्यापार विश्वासमा हानी पुग्ने बताएको छ । चिनियाँ कम्पनीहरूले आफ्नो गोपनीयता सरकारसँग सेयर गर्ने विषयमा विभिन्न टीकाटिप्पणी हुने गरेका छन्।
यस्तोमा आफ्ना प्रयोगकर्ताहरूको निजी विवरण चीन सरकारले दुरुपयोग गर्न सक्ने भन्दै सुरक्षा चासो बढेको थियो। यसै सम्बन्धमा सन् २०२२ डिसेम्बर २ तारिखमा अमेरिकी संघीय अनुसन्धान ब्युरो एफबीआईका निर्देशक क्रिस्टोफर वेरेले टिकटकको गोपनीयता र विवरण संकलन नीतिबारे चेतावनी दिँदै यस्ता कार्यले निजी पहिचान खुल्ने सूचना, तथ्यांक र संवेदनशील विवरणहरूमा चीन सरकारको पहुँच हुनसक्ने भनेका थिए। यसरी सूचना र गोपनीयता चुहिँदा ती निजी अकान्टहरूमा चीनले अन्य प्रयोजनका लागि पनि प्रयोग गर्न सक्ने उनको चेतावनी थियो । टिकटकको सुरक्षा सम्बन्धमा साइबर सुरक्षा तथा विश्लेषणसम्बन्धी फर्म ‘स्काइबर्ड सोलुसन्स’ का प्रमुख अपरेटिङ अधिकारी रुबेन माहेर भन्छन्, “टिकटकमा तपाईंका डेटाहरू केबल उपभोग्य सामग्री मात्र होइनन्, तपाईंका सम्पत्ति पनि हुन् जुन बाइटडान्सको नेतृत्वले त्याग्न समेत हिचकिचाउन सक् छ। यसैबाट पैसा कमाउन सकिने भएकाले टिकटक स्वतन्त्र पनि छ । यी निजी डेटाको आधारमा विशेष विज्ञापन पनि बजाइन्छ । जुन सबै सामाजिक सञ्जालमा सामान्य जस्तै हो। यसको डेटा चीनको केन्द्र सरकारको सर्भरमा भण्डारण हुन्छ र यसको व्यवस्थापन टोलीले बाइडडान्सका कार्यकारीसमक्ष रिपोर्ट पनि गर्छन् । यसलाई न्यूनतम भनेको थर्ड पार्टी ट्र्याकरले प्रयोग गर्न सक्नेछन् र यसको निगरानी गर्न सकिनेछ । चाहे तपाईंले सक्रिय रूपमा यो एप चलाउनुस् या नचलाउनुस् । यदि डेटा चीन सरकारसँग सेयर गरियो र गलत नियत राख्न खोजियो भने यो अमेरिकी सरकार र अनुसन्धान समुदायमा निकै चासाको विषय हुनेछ ।
प्रतिक्रिया दिनुहोस्