काठमाडौं, २० फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुद्धिजिवीहरूलाई लेख्न र विचार प्रवाह गर्न सुझाव दिएका छन्।
एमाले निकट बुद्धिजिवी परिषद्को केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले परिवर्तनका लागि लेख्न, पढ्न जरुरी रहेको बताए। “परिवर्नत, रुपान्तरण भनेको खाली रिभोल्युसन, आन्दोलन, एजिटेशन, आक्रोस आदिको अभिव्यक्ति मात्रै होइन, सामाजिक, आर्थिक अनेक क्षेत्रमा क्षेत्रमा गर्ने विकास हो,” बुद्धिजिवीलाई ओलीले भने, “यसमा तपाईहरूको लेखनको पक्षलाई अझ सक्रियता दिनुहोस्।”
अहिले केही नजान्ने मान्छेले पनि लेखिरहेको उल्लेख गर्दै आफ्नो विचार प्रवाह गर्न बुद्धिजिवीलाई आग्रह गरे। “अनेक खाले मान्छेले अर्थ न बर्थका लेख लेखेका हुन्छन्। चटके लेख लेखेका छन्, चटके शीर्षक राखेका छन्। त्योभन्दा त गहन मटेरियल तपाईसँग छ, त्यसलाई दुनियाँका अगाडि प्रस्तुत गर्नुपर्छ,” ओलीले भने।
पढेर मात्रै काम नलाग्ने ओलीको भनाइ थियो। “अर्काको हातमा गएको धन काम लाग्न सक्ला, फर्केर आउला पनि। पुस्तकमा भएको विद्या पनि पल्टाएर हेर्दा होला। आफैसँग गुम्साएर राखेको विद्याको त्यति पनि काम छैन,” उनले भने।
अध्यक्ष ओलीले किन लेख्नु, पढ्नुपर्छ भन्ने विषयमा बुद्धिजिवीलाई उदाहरण दिए। “पानको पातमा पानी फेरि राखिएन भने सड्छ। घोडा दौडाइराखिएन भने घोडा अड्छ, कुद्दैन। बिर्सिनसक्छ, कुद्न। मान्छे बोक्न पनि उसलाई मन लाग्दैन,” बुजिविजीलाई ओलीले भने, “अलिक समय पढ्न छोड्यो भने पढ्न मन नलाग्ने हुन्छ। अलिक समय लेख्न छोड्यो भने लेख्न मन नलाग्ने हुन्छ। एउटा लेख लेख्यो भने प्रकाशित भएपछि अरुले त्यसको प्रसंशा पनि गर्छ, आफूलाई प्रेरणा पनि हुन्छ।”
आफूले लेखेका विषयमा सामाजिक सञ्जालमा आउने नकारात्मक प्रतिक्रियासँग पनि डराउन नहुने उनको भनाइ थियो। “लगातार सय जना विरोधीले नकारात्मक टिप्पणी गर्यो भने नआत्तिनुहोस्। तपाईका विरोध सक्रिय भए किन भने तपाईको विचारबाट उनीहरू त्रसित भए। अरु केही होइन, त्रसित भएकाले सक्रिय भए। नकारात्मक टिप्पणीको बाढी आउनु भनेको तपाईको विचारसँग आत्तिए तिनीहरू,” ओलीले भने।
अध्यक्ष ओलीले सामाजिक सञ्जाल र आर्टिफिसियल इन्टेलिजेन्सलाई प्रयोग गरेर बौद्धिक जगतमा हाबी हुन बुद्धिजिवीलाई आग्रह गरे। विरोधीहरूले संगठित भएर गर्ने आलोचनाको वास्ता नगर्न उनीहरूलाई सुझाए।








प्रतिक्रिया दिनुहोस्