काठमाडौँ, ८ फागुन । राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्ने भएको छ । सोमबार दिउँसो ४ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बस्दै छ ।
फागुन २५ गते हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ । आइतबार साँझ नेपाली कांग्रेसका शीर्ष नेताहरूले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए । कांग्रेसले राष्ट्रपतिमा सहयोग माग्दा प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने जबाफ दिएका थिए ।
२५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । फागुन १० गतेसम्म माओवादीलाई कांग्रेस उम्मेदवारको पक्षमा उभ्याउन कांग्रेस नेताहरूले प्रयास गरिरहेका छन् ।
पुस १० मा सात दलीय गठबन्धनबाट सरकार बन्दा राष्ट्रपति नेकपा (एमाले)ले पाउने सहमति भएको थियो । तर, पुस २६ मा कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि राष्ट्रपतिका विषयमा नयाँ बहस भइरहेको छ ।
एमालेले पुस १० सहमति कार्यान्वयनका अडान लिएको छ भने माओवादी केन्द्रले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्नेमा जोड दिइएको छ ।








प्रतिक्रिया दिनुहोस्