काठमाडौँ, ७ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले तथ्यमा आधारित समाचार र विश्लेषणहरू आफ्ना सेवाग्राहीलाई उपलब्ध गराउँदै विश्वसनीय समाचारको प्रमुख स्रोतको रूपमा राष्ट्रिय समाचार समिति (रासस)को भूमिका अझै सुदृढ हुँदै जाने अपेक्षा व्यक्त गरेकी छन् ।
राससको ६२औँ वार्षिकोत्सवका अवसरमा एक शुभकामना सन्देश दिँदै राष्ट्रपतिले राष्ट्रको आधिकारिक समाचार संस्थाका रूपमा स्थापित राससले लोकतान्त्रिक प्रतिस्पर्धाको युगमा सोहीअनुरुप आफूलाई क्रियाशील राखेको पाउँदा आफूलाई खुसी लागेको बताइन् ।
शुभकामना सन्देशमा राष्ट्रपतिले भनेकी छन्, “सूचना प्रविधिको नवीनतम् विकास र प्रयोगबाट आमसञ्चार क्षेत्र प्रशस्त लाभान्वित भएको छ । समाजका हरेक तहसम्म सञ्चारमाध्यमको पहुँच विस्तार भएको छ, जसबाट स्वदेश र विदेशका खबरहरू क्षणभरमै हरेक नागरिकले प्राप्त गर्ने र सुसूचित हुने अवस्था सिर्जना भएको छ ।”
प्रविधिको विकासले सकारात्मक परिवर्तन ल्याएसँगै यसको अर्को पक्षकारूपमा भ्रामक सूचना र समाचारको ठूलो चुनौती थपिएको राष्ट्रपतिको भनाइ छ । सत्यतथ्यपूर्ण, विश्वसनीय, आधिकारिक र भरपर्दो सूचना तथा समाचार आमजनतालाई शीघ्र प्रवाह गरी सुसूचित गराउने कार्यमा राससको दायित्व र भूमिका अझ बढ्न गएको राष्ट्रिपति भण्डारीले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरिन् ।
“आफ्नो प्रभावकारिता र पहुँच विस्तार गर्न राससले छापा माध्यमका समाचारका अतिरिक्त श्रव्य÷दृश्य सामग्रीको उत्पादन र वितरणमा समेत जोड दिनु बाञ्छनीय हुन्छ”, सन्देशमा राष्ट्रपति भण्डारीले अगाडि भनेकी छन्, “आधिकारिक र तथ्यपूर्ण सूचना एवं सञ्चारका क्षेत्रमा राज्यले गरेको लगानीलाई नागरिक हितका लागि उपयोग गर्नु राससको प्रमुख दायित्व हो भन्ने मलाई लाग्दछ ।”
लोकतन्त्रको सुदृढीकरण, दिगो विकास, समावेशी समाज र आर्थिक समृद्धिका पक्षमा कुशल सञ्चारमार्फत राससले अझ योगदान गर्दै जाने राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गरेकी छन् ।
राष्ट्रपतिले राससको ६२औँ वार्षिकोत्सवका अवसरमा कार्यरत पत्रकार, कर्मचारी, व्यवस्थापन एवं सेवाग्राहीमा शुभकामना व्यक्त गर्दै आफूलाई अझ अब्बल र नेतृत्वदायी सञ्चारमाध्यम बनाउन सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गरिन् ।








प्रतिक्रिया दिनुहोस्