काठमाडौँ, ७ फागुन । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रजातन्त्रलाई जीवन पद्धति बनाउनुपर्ने बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ को अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न प्रजातन्त्रलाई जीवन पद्धति बनाउनुपर्ने उल्लेख गरे ।
जारी सन्देशमा निरंकुश राणाशासन अन्त्य भई मानवअधिकार तथा राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष फागुन ७ मा प्रजातन्त्र दिवस मनाइने र त्यसपछिको सात दशकभन्दा लामो उतारचढावपूूर्ण यात्रामा नेपाली जनताको निरन्तर संघर्षकै प्रतिफलस्वरुप लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको उल्लेख छ ।
प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा जीवन गुमाउने ज्ञात अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रदेश प्रमुख गुरुङले आन्दोलनमा भाग लिने क्रममा बेपत्ता, घाइते एवं अंगभंग भएका व्यक्तित्वप्रति सम्मान व्यक्त गरे ।
संघर्षको मार्गदर्शनस्वरुप नेपालको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अंगीकार गर्दै न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको प्रदेश प्रमुखले भनेका छन् ।
“संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै हामीले प्राप्त गरेका उपलब्धिको रक्षा गर्दै मुलुकमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरी सुशासन कायम गर्न र हामीले अपेक्षा गरेको समृद्धिको सपना साकार गर्न एकाकार भएर अघि बढ्नु आजको आवश्यकता हो,” सन्देशमा उल्लेख छ ।








प्रतिक्रिया दिनुहोस्