काठमाडौं, १८ पुस । विभिन्न आरोह–अवरोहबीच सन् २०२२ सकिएको छ । गएका ३ सय ६५ दिनमा विश्व समुदायले राजनीतिक परिवर्तन, आर्थिक उन्नति र संकट, प्राकृतिक प्रकोप, विकास र सुधारका विभिन्न घटनाबारे जान्ने, बुझ्ने र अनुभव गर्ने अवसर पायो । तर पनि यो अवधिमा खासगरी रुस–युक्रेन युद्ध चर्चा र चासोको केन्द्रमा रह्यो ।
सन् २०२२ मा चीन, अमेरिका बेलायत, रुस, भारतलगायत शक्ति राष्ट्रहरूमा विकसित राजनीतिक घटनाक्रम र ती देशहरूका विभिन्न भूराजनीतिक स्वार्थका कारण उत्पन्न तनाव पनि अन्तर्राष्ट्रिय चर्चाको विषय बन्यो । त्यसका साथै, योवर्ष राजनीति, साहित्यदेखि खेल जगतका केही महत्त्वपूर्ण व्यक्तिहरूलाई संसारले गुमायो । नेटोको सदस्यता लिने तयारी गरेपछि रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । युद्धका कारण कम्तीमा ४० हजार युक्रेनीको ज्यान गयो भने एक करोड ५० लाखदेखि ३ करोड विस्थापित भइसकेको छ ।
रुसका ६ हजार सैनिकको ज्यान गइसकेको छ भने युक्रेनमा हालसम्म एक लाख सैनिक मारिएका वा घाइते भएका जनाइएको छ । आक्रमण सुरु गरेयता रुसले चारवटा क्षेत्रलाई भने आफूमा गाभिसकेको छ । त्यस्तै वर्ष २०२२ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो तेस्रो कार्यकाल राष्ट्रपति निर्वाचित भए । सीले आगामी पाँच वर्षसम्म देशमा शासन गर्नका लागि आफ्नो नयाँ समूह चयन गरेका छन् र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उक्त समूहलाई ‘बफादार टिम’ को संज्ञासमेत दिएका छन् । उता डेढ शताब्दीदेखि समानताका लागि लडिरहेका इरानी महिलाले यो वर्ष आआफ्नो आवाज निकै बुलन्द बनाइन् । हिजाब कानुन उल्लंघन गरेको आरोपमा धार्मिक प्रहरीद्वारा पक्राउ परेकी २२ वर्षीया युवती महसा अमिनीको रहस्यमय मृत्यु भएपछि इरानमा महिलाहरूको अगुवाइमा तीन महिनाभन्दा लामो समयदेखि आन्दोलन जारी छ । तेहरानमा सेप्टेम्बर १८ मा सुरु भएको प्रदर्शन पछिल्ला दिनमा सबैजसो प्रमुख सहरहरूमा फैलिइसकेको छ । ३१ प्रान्तका १६० सहरमा प्रदर्शनहरू फैलिएको जनाइएको छ ।
प्रदर्शनकारीमाथि सरकारी फौजले गरेको चरम दमनका क्रममा ५ सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने दुई जनालाई मृत्युदण्ड दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार करिब २० हजार पक्राउ परिसकेका छन् । त्यस्तै अमेरिकी प्रतिनिधिसभाकी सभामुख नान्सी पेलोसीको ताइवान भ्रमणपछि चिसिएको अमेरिका–चीन सम्बन्ध पछिल्लो समय थप चर्केको छ । चीनको बारम्बारको चेतावनीको बेवास्ता गर्दै अमेरिकी सभामुख पेलोसी आफ्नो एसिया भ्रमणका क्रममा अगस्ट पहिलो साता ताइवान उत्रेकी थिइन् । चिनियाँ विदेशमन्त्री वाङ यीले पेलोसीको भ्रमणले ‘एक चीन’ नीति उल्लंघन गरेको आरोप लगाउँदै चीनको सार्वभौमसत्तामाथि अमेरिकाले आक्रमण गरेको बताए । अमेरिकाले ताइवानसँग चीनको एकीकरण प्रक्रिया अवरुद्ध पार्ने, चीनको विकासको बाधक बन्ने, भूराजनीतिक अवस्थालाई तोडमोड गर्ने र सही–गलतबीचमा द्विविधा उत्पन्न गराउने काम गरेको चीनको दाबी छ । त्यसका साथै, अमेरिकाले पछिल्लो समय चीनबाट आफ्नो देश प्रवेश गर्ने यात्रुलाई रोक लगाउने जनाएपछि चीन थप रुष्ट छ । यता भारत र चीनको सीमा क्षेत्रमा डिसेम्बर दोस्रो साता पुनः झडप भयो । भारतको अरुणाचल प्रदेशस्थित सीमा क्षेत्र तवाङमा भएको झडपमा केही भारतीय सैनिक घाइते भएको घटना सार्वजनिक भएसँगै भारतीय राजनीतिसमेत तातेको थियो । पछिल्लो घटनापछि भारतले चीनसँगको विवादित सीमा क्षेत्रमा सैनिकको संख्या बढाएर हालसम्मकै धेरै पु¥याएको जनाएको छ । दुई शक्तिराष्ट्र चीन र भारतबीच ३ हजार ५ सय किलोमिटर जोडिएको सीमा विवादलाई लिएर दुई देशबीच पटक–पटक सैन्य स्तरमा झडपसमेत हुने गरेको छ । त्यस्तै लामो समयको राजनीतिक रस्साकसीपछि गत अक्टोबरमा भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री निर्वाचित भए । सुनकसामु आयव्ययबीच सन्तुलन मिलाई अर्थतन्त्र सुदृढ पार्ने र पछिल्लो समय राजनीतिक रूपमा विभाजित कन्जरभेटिभ दललाई एकीकृत बनाउने मुख्य चुनौती छन् ।
यता अमेरिकामा भएको संसदीय चुनावमा अप्रत्याशित रुपमा सत्तारूढ दलले माथिल्लो सदन सिनेटमा बहुमत ल्याएसँगै अमेरिकी राष्ट्रपति जो बाइडेनलाई राहत मिल्यो । देशको अर्थतन्त्रमा आएका समस्या र चार दशकयताकै ठूलो मूल्यवृद्धिका कारण पछिल्लो समय अलोकप्रिय बन्दै गएका बाइडेनका कारण डेमोक्रेटिक दलले निकै ठूलो हार व्यहोर्ने चुनावी सर्वेक्षणहरूले देखाएका थिए । एक सय सदस्यीय सिनेटमा नियन्त्रण कायम गरेको डेमोक्रेटिक दलले तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्स (प्रतिनिधिसभा) मा पनि उल्लेखनीय प्रदर्शन गरेको छ । यसैगरी सन् २०२२ मा सोभियत संघलाई बाहिरी दुनियाँसँग खुला गरेका मिखाइल गोर्भाचेभलाई विश्वले यसै वर्ष ९१ वर्षको उमेरमा गुमायो । सन् १९८५ मा ग्लासनोस्त (खुलापन) र पेरेस्त्रोइका (पुनःसंरचना) नीति अख्तियार गरेका कारण उनी शीतयुद्धकालीन महाशक्ति सोभियत संघको अन्तिम राष्ट्रपति बनेका थिए । पश्चिमा जगतमा उनलाई ‘सुधारका प्रणेता’ का रूपमा हेर्ने गरिन्छ । उता दोस्रो विश्वयुद्धपछि जापानमा सबैभन्दा लामो समय सरकारको नेतृत्व गर्ने नेता सिन्जो आबेको यसै वर्ष अप्रत्याशित निधन भयो । लिबरल डेमोक्र्याटिक पार्टीका लागि मत माग्ने क्रममा नारा सहरको चुनावी सभालाई सम्बोधन गरिरहेका आबेमाथि एक व्यक्तिले गोली हानेका थिए । यस वर्ष अफगानिस्तानको सत्ताकब्जा गरेको तालिवान शासक झन् अनुदार बन्यो । खासगरी महिला अधिकार निषेध गर्ने र प्रेस स्वतन्त्रता खुम्चाउने काममा तालिवान शासक अगाडि देखिए । सत्तामा आएलगत्तै छात्राहरूलाई माध्यमिक तह अध्ययनमा रोक लगाएको तालिवानले हालै एक निर्णय सार्वजनिक गर्दै विश्वविद्यालयमा महिलाहरूलाई प्रवेशमा रोक लगाएको छ । त्यस्तै बेलायतमा सात दशकभन्दा लामो समय शासन गरेकी महारानी एलिजाबेथ द्वितीया ९६ वर्षको उमेरमा यसै वर्ष निधन भयो । सन् १९२६ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा बढी समय र विश्वमा फ्रान्सका लुई १४ औं पछि लामो समय शासन गर्ने राष्ट्राध्यक्ष बनिन् । उनको मृत्युपछि जेठा छोरा चार्ल्स तृतीय बेलायतका राजा बने ।
त्यस्तै पाकिस्तानमा गत जुनदेखि सुरु भएको बाढीपहिरोका कारण एक हजार ५ सय जनाभन्दा बढीले ज्यान गुमाए भने बाढीका कारण दसौं हजार विस्थापित भए । सिन्ध, बलुचिस्तान, गिलगिट, बाल्टिस्तान, खैबर पख्तुनख्वा र पञ्जाब प्रान्त बाढीका कारण बढी प्रभावित भएका हुन् । बाढीको विनाशका कारण १२ अर्ब डलरभन्दा बढीको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ । त्यस्तै फ्रान्सलाई हराउँदै यसपटकको फुटबल विश्वकप अर्जेन्टिनाले हात पा¥यो । कतारमा आयोजित खेलको फाइनल खेल ३–३ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा अर्जेन्टिना फ्रान्सलाई ४–२ ले हराएर विश्व च्याम्पियन बने । ३६ वर्षपछि विश्वकप हात पार्ने क्रममा अर्जेन्टिनी स्टार लियोनल मेसीले पनि पाँचौं प्रयासमा विश्वकप जित्ने सपना पूरा गरे । अर्जेन्टिना तेस्रोपल्ट विश्वविजेता बनेको हो ।
२३ वर्षे केलियन एमबाप्पे विश्वकपको ९२ वर्ष लामो इतिहासमा फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बने । यता सन् २०२२ को अन्तमा ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भयो । चारपटक विश्वकप खेलेका उनले ६ दशकभन्दा बढी फुटबल खेलाडीको रुपमा बिताए । उनले आफ्नो २१ वर्ष लामो खेल जीवनमा विश्व कीर्तिमान १ हजार २ सय ८१ गोल गरे । ब्राजिलका लागि ९२ खेल खेल्दै उनले ७७ गोल गरेका छन् । सन् २००० मा फिफाले उनलाई दशकको खेलाडी घोषणा गरेको थियो । यसरी विभिन्न आरोह–अवरोहबीच सन् २०२२ सकिएको छ । सोअवधिमा विश्व समुदायले राजनीतिक परिवर्तन, आर्थिक संकटलगायत विभिन्न घटनाबारे जान्ने, बुझ्ने र अनुभवसँगै रुस–युक्रेन युद्ध चर्चा र चासोको केन्द्रमा रह्यो । संयुक्त राष्ट्र सङ्घले सन् २०२३ लाई कोदो वर्षको रूपमा मनाउने घोषणा गरेको छ ।








प्रतिक्रिया दिनुहोस्