काठमाडौं, १५ पुस । प्रधानमन्त्रीका रूपमा तेस्रो पटक सिंहदरबार प्रवेश गर्दै गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अवसर र चुनौती हाराहारी देखिन्छन् । आफूलाई ‘डाइनामिक लिडर’ अर्थात् गतिशील नेता भन्न रुचाउने प्रचण्डलाई आलोचकहरू चाहि अस्थिर नेता भन्छन् । हुन पनि कहिले यता त कहिले उता गरेर कुनै न कुनै रूपमा आफू र आफ्नो पार्टीलाई सत्ताको नजिक राख्न सफल प्रचण्डले भर्खरैसम्म हातेमालो गरिरहेको काग्रेसलाई छोड्दै कुनै बेला निकै तिक्ता सम्बन्ध रहेको दल एमालेसँग सहकार्य गर्ने निर्णय लिनु आफैमा सानो जोखिम होइन ।
त्यसैले पनि नवनियुक्त प्रधानमन्त्री प्रचण्डको पहिलो चुनौती नया गठबन्धनको औचित्य पुष्टि गर्नु नै हुनेछ । यो कुरा प्रचण्डको प्रधानमन्त्रित्व कालका लागि मात्र होइन सम्भवतः उहाँको दल माओवादी केन्द्रको राजनीतिक भविष्यका लागि अझ बढी महत्त्वपूर्ण हुनेछ । देउवाबाट धोका’ खाएका प्रचण्ड अन्तिम क्षणमा ओली निवास बालकोट पुगे । बालकोट सायद प्रचण्डलाई नै पर्खेर बसेको थियो । करिब तीन वर्षको दुश्मनी तीन मिनेटमा मित्रता र सहकार्यमा परिणत भयो । एमाले अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री मात्र स्वीकार गरेनन्, नया समीकरणको सहजीकरण समेत गर्दिए ।
तर प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चुनौतीको घेरा भने निकै ठूलो छ । प्रधानमन्त्री प्रचण्डसामु यसअघि टुटिसकेको नेपाली कांग्रेसँगको पाँच दलीय गठबन्धनभन्दा तीन स्वतन्त्र सहित सात दलीय गठबन्धनको सरकार सञ्चालनमा स्वभाविकै चुनौति बढि छ ।
वाम गठबन्धनमै पनि विगतमा सम्बन्धमा तिक्तता रहेकादेखि वैचारिक विमति राख्ने र नवोदित पार्टीहरु सबैलाई मिलाउसक्नु नै पनि पहिलो चुनौतीका रुपमा छ । प्रधानमन्त्री प्रचण्डको पहिलो कार्यकालको तुलनामा दोस्रो कार्यकाल बढी सन्तुलित र सफल थियो । तेस्रो कार्यकाललाई झनै उल्लेखनीय बनाउँन सके त्यो उनको व्यक्तित्व र देश, जनताको आवश्यकता दुवैका लागि हितकर हुनेछ । वाम एकता कम्युनिष्ट कार्यकर्ता र समर्थकको लामो समयदेखिको सपना हो । २००६ सालमा स्थापित भएको कम्युनिस्ट पार्टी २०१९ सालको तेस्रो महाधिवेशनसम्म एउटै थियो । ०२० को दशकमा कम्युनिस्ट आन्दोलनमा व्यापक टुटफुट भयो ।
टुटफुटले सिर्जना गरेका गुटबीचको संघर्ष र तिक्तता निक्कै तीतो रह्यो । २०७४ को आम निर्वाचनमा एमाले– माओवादी गठबन्धन र नेकपाको गठन हुदा देशको कम्युनिस्ट जनमत असाध्यै खुसी भएको थियो । तर, त्यो खुसी दुई वर्षभन्दा बढी टिक्न पाएन । अहिलेको अवसरलाई प्रयोग गरेर ओली र प्रचण्डले त्यो टुटेको कडीलाई फेरि जोड्न सक्दछन् । त्यसो भए हिजो दुवै नेतामाथि लागेको दाग मेटिने नयाँ परिस्थिति बन्न सक्दछ ।








प्रतिक्रिया दिनुहोस्