काठमाडौं, ६ मंसिर । बझाङमा मतदान भएको तीन दिनपछि मतगणना कार्य सुरू भएको छ । साईपाल गाउँपालिकाको मतपेटिका सदरमुकाम ल्याउन ढिला भएपछि मतगणना कार्य प्रभावित भएको थियो ।मंगलबार हेलिकप्टर मार्फत मतपेटिका ढुवानी गरिएपछि दिउँसो ४ बजेबाट सदरमुकाम मतगणना कार्य सुरू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।प्रतिनिधिसभा सदस्यको ४ ठाँउमा र प्रदेशसभा सदस्यको ४ ठाउँ गरी ८ ठाँउमा मतगणना सुरू गरिएको छ । बझाङमा ६३ हजार ४८९ मत खसेको छ । यो कुल मतको ५२ प्रतिशत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पहिलो मतगणना साईपाल गाउँपालिका र विथ्थडचिर गाउँपालिकाबाट सुरू भएको छ ।
प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीबाट सत्ता गठबन्धनका साझा उम्मेदवार भानुभक्त जोशी छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका ऐन महर रहेका छन् । यस्तै राप्रपाबाट विश्वप्रकाश जेठारा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रेम राज जोशी रहेका छन् ।
प्रदेशसभाको लागि निर्वाचन क्षेत्र नं १ मा गबन्धनका तर्फबाट नेपाली काङग्रेसका पृथ्वी बहादुर सिंह र एमालेका अफिलाल ओखेडाबीच मुख्य प्रतिस्पर्धा छ भने क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भिम भण्डारी, एमालेका लालबहादुर रावल र राप्रपाका वीरेन्द्र मल्लबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्