काठमाडौं, २२ कात्तिक । हाल नेपाली राजनीतिमा सबभन्दा चर्चित शब्द पनि हो स्वतन्त्र । नेपाली शब्दकोष अनुसार स्वतन्त्र शब्दको अर्थ अरू कसैको बन्धन, दबाब, अधीन आदिमा नरही आफ्नै तन्त्र वा शासनमा रहने र त्यसै माध्यमले स्वयं सोचीबुझी काम गर्न सक्ने वा पाउने स्वाधीन हो । पछिल्लो निर्वाचनमा काठमाडौं, धरान, धनगढी लगायत अन्य स्थानीय तहमा स्वतन्त्र उम्मेदवार भएका व्यक्तिहरु विजयी बनेपछि नेपाली राजनीतिमा स्वतन्त्र शब्दको चर्चा चुलीमा पु¥याएको छ ।
आगामी संघीय निर्वाचनमा स्वतन्त्र रूपमा उम्मेदवारी दिने व्यक्तिको संख्या पनि बढ्दो छ । प्रतिनिधि सभा सदस्यमा १६५ सिटमा प्रत्यक्ष तर्फ प्रतिस्प्रर्धाको लागि देशैभरबाट स्वतन्त्र उमेदवारी दिनेको संख्या ८ सय ६४ रहेको छ । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा एकतिहाइभन्दा धेरै स्वतन्त्र उम्मेदवार छन । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ दुई हजार चार सय १२ मध्ये आठ सय ६४ स्वतन्त्र उम्मेदवार छन, जुन कुल उम्मेदवारको ३५.९४ प्रतिशत हो । प्रतिनिधिसभामा ५७ दलले उम्मेदवारी दर्ता गरेका छन । देशैभबाट स्वतन्त्र उमेदवारी दिनेको संख्या ८ सय ६४ छन, जसमा २४ वर्ष युवादेखि ७५ वर्ष उमेर समूहका ब्यक्तिले समेत आफ्नो उमेदवारी दर्ता गराएका छन । स्वतन्त्र उम्मेदवारी दर्ता गराउनेमा पार्टीले टिकट नदिएका, बागी, विद्रोही, कुनै पनि दलमा आबद्ध नभएकादेखि दल त्याग गरेकासम्म छन । निर्वाचनमा पार्टीले टिकट नदिएपछि कतिपय नेता पार्टी परित्याग गरी अर्को पार्टीमा लागेका छन भने केहीले स्वतन्त्र उम्मेदवारी दिएका छन ।
नेताहरूले विगतमा उठेकै निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका हुन । टिकट नदिएपछि नेकपा एमाले परित्याग गरेका घनश्याम भुसालले रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । एमालेकै निवर्तमान सांसद रामवीर मानन्धर, नेता प्रभु साह, नेकपा एमालेकी निवर्तमान सांसद गंगा चौधरी सत्गौवाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन । यस्तै, नेपाली कांग्रेसका नेता दिनेश कोइराला, नेता गोविन्दराज जोशी, कांग्रेसका नेता अमरेशकुमार सिंहले पनि पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन । आज स्वतन्त्रहरूको माहोल जसरी बढेको देखिन्छ, त्यसको एउटै कारण, हाम्रो विकृत राजनीति । पटकपटक जनताबाट चुनिएर पनि जनतासँग नजोडिनु र पटकपटक सरकारमा जाँदा पनि जनताका पक्षमा काम नगर्ने कार्यशैलीको परिणाम हो, जनतामा दल र नेताहरूप्रतिको वितृष्णा । काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवार बनेकी रञ्जु दर्शना दलहरूकै कारण स्वतन्त्र उम्मेदवार बढेको तर्क गर्छिन । दलको भन्दा स्वतन्त्रलाई काम गर्न सहज हुने उनको विश्वास छ ।
राजनीतिक दलहरूले जनअपेक्षा पूरा गर्न नसक्दा स्वतन्त्र उम्मेदवार बढेको कतिपयको मत छ । दलहरूकै व्यवहारले बढाएको नैराश्यताका कारण पनि स्वतन्त्र उम्मेदवारी दिने बढेको उनीहरूको बुझाइ छ । डडेलधुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका प्रतिस्पर्धी बनेका सागर ढकाल एक–दुई व्यक्ति पनि संसदमा पुग्दा त्यसको महत्व हुने भएकाले स्वतन्त्र उम्मेदवारी बढेको बताउँछन ।
यता, काठमाडौँ ५ का स्वतन्त्र उम्मेदवार विजय कँडेलले चुनाव चिन्ह चप्पल लिएर निर्वाचनमा होमिँदै छन ।
पूर्वप्रधानमन्त्री केपी ओलीलाई हराउन भनेर झापामा साहित्यकार तथा लेखक युग पाठक कस्सिएका छन । त्यस्तै, चर्चित विद्यार्थी नेता, हेमराज थापाले काठमाडौ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन । निति निमार्ण तहमा सक्षम युवा, भ्रष्टाचार अन्त्य, सासंदको सम्पत्ति छानविनका लागि कानुन बनाउने, संवैधानिक आयोग र सार्वजनिक संस्थामा राजनीतिक नियुक्ति नगर्ने विधेयक बनाउने, जनताका दैनिक समस्या सभामुखमार्फत रुलिङ गराउने जस्ता एजेन्डा अघी सारेका थापाले सडकको लडाईं निर्वाचनपछि संसदमा हुने बताउछन् । राजनीतिक अनुभव नभएका, भ्रष्टाचारविरोधी अभियान चलाएका र स्वतन्त्रहरू नै दल बनाएर प्रतिस्पर्धामा आएका तर, स्वतन्त्र उम्मेदवार दलको विकल्प हुन नसक्ने धेरैजसो विश्लेषहरु बताउँछन ।
आज किन जनता दलहरूको विकल्प खोज्न बाध्य भए ? दलहरूले आफ्नो प्रभाव क्षेत्र भनेकै ठाउँबाट कसरी स्वतन्त्रहरू निर्वाचित भए ? मतदाता किन स्वतन्त्रप्रति आकर्षित बने ? यसका बारेमा दलहरूले गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको छ । फेरि पनि दलहरूले आफ्नो अकर्मण्यतालाई कायमै गरे र विगतका कमजोरी सच्याउनेतर्फ चासो दिएनन भने यसले दलीय व्यवस्था मात्रै नभई सिंगो व्यवस्था नै जोखिममा नपर्ला भन्न सकिन्न । तसर्थ स्वतन्त्र उम्मेदवारीको लहर र रहरको फैलिँदो प्रवाह र प्रभाव रोक्न दलहरूले आफ्ना नीति र कार्यक्रमसँगै निर्वाचनमा उम्मेदवार चयनमा विशेष ध्यान दिन उत्तिकै जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्