काठमाडौं । संसदमा तेस्रो शक्ति बन्ने दौडमा रहेको नेकपा माओवादी केन्द्रले आगामी सरकार आफ्नै नेतृत्वमा बनाउने घोषणा गरेको छ ।
केन्द्रीय कार्यालय पेरिसडाडाँमा सोमबार ८१ पृष्ठको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ प्रधानमन्त्रीका रुपमा अगाडि सारेको हो । आगामी सरकार निर्माणमा निर्णायक हुने अनुमान गरिएको माओवादी केन्द्रले राष्ट्रको नेतृत्व, निकास र विकासका लागि प्रचण्ड नै प्रधानमन्त्री बन्नुपर्ने निष्कर्ष प्रस्तुत गरेको छ । नेताहरुको अभिव्यक्ति र चुनावी गीत मार्फत् पनि माओवादी केन्द्रले आगामी सरकारको दावी गर्दै आएको थियो । सोमबार मात्रै पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले गोरखा पुगेर प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका थिए ।
घोषणा पत्रमा भने प्रचण्ड प्रधानमन्त्री बन्नुपर्ने कारण र त्यसबाट मुलुकले पाउने लाभबारे क्षेत्रगत व्याख्या गरिएको छ । विभिन्न ४८ क्षेत्रलाई समेटेर प्रस्तुत घोषणापत्रको सार भने माओवादी नेतृत्वको सरकार र प्रचण्ड प्रधानमन्त्री रहेको छ । तर मत भने माओवादी केन्द्रले गठबन्धनकै निम्ति मागेको छ ।
‘संविधानको रक्षा, राजनीतिक स्थिरता र समृद्धिका लागि गठबन्धनः गठबन्धनका उम्मेदवारलाई यसपटक मतदान’, घोषणापत्रमा लेखिएको छ । माओवादी केन्द्रले अहिलेको गठबन्धनलाई तात्कालिक परिस्थितिको उपज भनेको छ ।
२०७४ को चुनावपछि नेकपा एमालेसँग एकता गरे पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरोधी कदम चालेकाले अहिलेको गठबन्धन बनाउनु आवश्यक परेको माओवादी केन्द्रको प्रष्टोक्ति छ ।
‘प्रतिगमन विरोधी संघर्षको क्रममा जन्मेको गठबन्धन अहिले आसन्न चुनावमा पनि तालमेल गर्ने निर्णयसहित अघि बढेको छ । यो गठबन्धन र तालमेल तात्कालिक परिस्थितिको उपज हो’, माओवादी केन्द्रले लेखेको छ । तर आगामी सरकार भने माओवादी केन्द्रकै नेतृत्वमा बन्ने घोषणापत्रमा दाबी गरिएको छ ।
प्रचण्ड नेतृत्वको सरकार बन्नुपर्ने र बनाइनेबारे व्याख्या छ । ‘नेपालको समकालीन राजनीतिमा उहाँ मात्र एक्लो त्यस्तो नेता हुनुहुन्छ । तसर्थ, अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वको ने.क.पा.(माओवादी केन्द्र) बाट मात्र यतिबेला पनि राष्ट्रको नेतृत्व, निकास र विकास सम्भव छ’, घोाषणापत्रमा लेखिएको छ । यसपटक पनि माओवादी केन्द्रले प्रचण्डलाई गिरिजाप्रसाद कोइरालासँग तुलना गरेको छ ।
‘गिरिजाप्रसाद कोइरालासँगै शान्ति प्रक्रियाको संयुक्त नेतृत्व गर्नुभयो, संविधान सभाद्वारा संविधान निर्माणमा प्रमुख नेतृत्वदायी भूमिका खेल्नुभयो, संविधान कार्यान्वयनको प्रक्रियाको नेतृत्व गर्नुभयो र प्रतिगमन विरोधी सङ्घर्षको नेतृत्व गर्नुभयो’ प्रचण्डको भूमिकाबारे लेखिएको छ । पार्टीको आठौं महाधिवेशनले प्रचण्डकै नेतृत्वमा वैचारिक–सांस्कृतिक रुपान्तरणको महाअभियानमा जाने घोषणा गरेको स्मरण गरिएको छ ।
नयाँ सरकारले राजनीतिक अस्थीरता कायम गर्ने र समाजवाद उन्मुख कार्यक्रममा जोड दिने प्रतिबद्धता गरिएको छ । ‘समाजवादी व्यवस्थाको आधार तयार गर्न तत्काललाई समाजवादउन्मुख चरित्रको स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा पार्टीको सम्पूर्ण ध्यान केन्द्रित गरिनेछ’, घोषणापत्रमा लेखिएको छ ।








प्रतिक्रिया दिनुहोस्