सेप्टेम्बर २१ तारिक अर्थात अन्तर्राष्ट्रिय अल्जाइमर्स दिवस । नेपाल लगायत विश्वभर यो दिन अल्जाइमर्स दिवस मनाँउदै आएको छ । सेप्टेम्बर महिनालाई अल्जाइमरविरुद्धको महिनाका रूपमा मनाउने चलन पनि छ । यो वर्ष २०२२ को नारा चाँही नो डिमेन्सिया नो अल्जाइमर्स रहेको छ ।
आज विश्वभर अल्जाइमर्स दिवस मनाइएको छ । अल्जाइमरबारे जनचेतना बढाउने उद्देश्ले हरेक वर्षको सेप्टेम्बर २१ तारिखका दिन यो दिवस मनाइन्छ । अल्जाइमर एक प्रकारको डिमेन्सिया हो । जसले व्यक्तिको प्राकृतिक स्मरण शक्ति, व्यवहार अनि अभिव्यक्तिलाई असर गर्दछ । सुरुवातमा संवेगात्मक अनि व्यहारात्मक परिवर्तनका रूपमा देखिने अल्जाइमरले पछि गएर स्मरण शक्तिमा पूर्णतः ¥हाससम्मको अवस्था निम्त्याउने गर्दछ । डिप्रेसन, हाइपर टेन्सन, टाउकोमा गहिरो चोट लाग्नु र ७० प्रतिशत वंशाणुगतका कारण यो रोग लाग्ने गर्दछ । अत्यन्त व्यस्त जीवनशैली र आफ्नो लागि समयको अभाव, तनाव, मोटोपन अनि शारीरिक व्यायामको कमी जस्ता कारणहरूले पनि अल्जाइमरको जोखिम बढाउँछ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ५ करोड मानिसहरुलाई बिर्सने रोग अर्थात अल्जाइमर छ । अबको ३० वर्षमा विश्वमा १५ करोड भन्दा धेरै मानिसलाई डिमेन्सिया हुने डब्लूएचओले जनाएको छ । सन २०१५ को विश्व अल्जाइमर्स तथ्यांकले विश्वमा प्रत्येक तीन सेकेण्डमा एक व्यक्तिमा डिमेन्सिया भैरहेको देखाएको छ । उक्त अध्ययन अनुसार नेपालमा पनि ७८ हजार अल्जाइमर्सका विरामी थिए । जुन प्रत्येक २० बर्षमा दोब्बर हुने अनुमान गरिएको छ । समयमै स्वास्थ्य सुरक्षा नअपनाउंदा उक्त समस्या आइपर्ने गुनासो छ ।
अल्जाइमर्स भएपछि व्यक्तिले सिकेका सबै सीप बिर्सँदै गएर दैनिक जीवन चलाउन नै समस्या हुने डाक्टर रमेश कँडेलले बताउछन् । बिर्सने रोग भिटामिनको कमी, डिप्रेशन, लामो समय जाँडरक्सी खाने व्यक्ति, परिवारबाट माया नपाउने र उमेर ढल्किँदै गएपछि लाग्ने रोग भएको डाक्टर कँडेल बताउछन् । सुत्न नसक्नु वा निन्द्रा कम लाग्नु पनि अल्जाइमर्सको लक्षण हो । सुरुमा के कारणले रोग लागेको हो भन्ने थाहा पाउन सके डिमेन्सियाअन्तर्गत पर्ने बिर्सर्ने रोग मध्य केही केहीको भने उपचार सम्भव भएको डाक्टर कँडेल बताउछन् ।
दैनिक व्यायाम, सन्तुलित भोजन, सामान्य जीवनशैली, जीवनबाट सन्तुलित अपेक्षा अनि दैनिक योगाभ्यास गर्नाले अल्जाइमरवाट बच्नसकिने चिकित्सक तथा स्वास्थ्य विशेषज्ञहरु बताउँछन् । अल्जाइमर रोगको शंका लागेमा नजिकको स्वास्थ्य चौकी, जिल्ला अस्पताल वा प्राथामिक स्वास्थ्य चौकी मा गई सरसल्लाह लिन सकिन्छ । सबैजसो जेष्ठ नागरिकलाई बुढेसकालमा बिर्सने समस्या त हुन्छ नै । तर यतिबेला उनीहरुलाई परिवारको माया, मोह र स्नेहको आवश्यकता पर्छ । खानपानमा विशेष ध्यान दिनु पर्छ । यति गर्न सकियो भने बिरामीलाई आत्मविश्वास बढ्नुका साथै जटिल समस्या आउनबाट बचाउन सकिन्छ । एकपटक अल्जाइमर भइसकेको मान्छेलाई औषधी गरेर सामान्य रूपमा फर्काउन असम्भव हुन्छ, तसर्थ अल्जाइमर रोग विरुद्ध लड्न हामी सबैले जनचेतना अनि जीवनशैलीमा केही सुधार गर्न जरुरी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्