काठमाडौं, २० भदौ । सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाउनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि १५ बुँदे सुझावसहित संसद्मा फिर्ता भएको नागरिकता विधेयक सभामुख सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनुभएको हो ।
राष्ट्रपतिले फिर्ता गरेको विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैबाट जस्ताको तस्तै पारित भएपछि सभामुख सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाउनुभएको हो । यसअघि राष्ट्रपति भण्डारीले गएको साउन २९ गते नागरिकता विधेयक फिर्ता गर्नुभएको थियो । तर त्यसको दुई दिनपछि सत्तारूढ गठबन्धनले नागरिकता विधेयक जस्ताको तस्तै पास गर्ने निर्णय गरेको थियो ।
त्यसपछि भदौ २ गते औपचारिकता पुर्याउन छलफल गरेर प्रतिनिधि सभाले विधेयक पास गरेको थियो । त्यसपछि राष्ट्रिय सभामा पुगेको विधेयक सभाले विधायन समितिमा पठाएको थियो । त्यहाँ पनि विधेयक संशोधन भएन ।
अब सङ्घीय संसद्बाट दोस्रो पटक पारित भएर आएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ ।








प्रतिक्रिया दिनुहोस्