काठमाडौं, १५ भदौ । राष्ट्रियसभाको विधायन समितिले नागरिकता विधेयकलाई जस्ताको तस्तै पारित गरेको छ। बहुमतले कुनै संशोधनबिना विधेयक पारित गरेको समितिका सदस्य भगवती न्यौपानेले जानकारी दिइन्। समितिका १५ सदस्यमध्ये एमालेका तीन सांसदले फरक मतका रुपमा छुट्टै प्रस्ताव राखेका थिए भने स्वतन्त्रबाट खिमलाल देवकोटा र विमला राई पौड्यालले फरक मत राखेको न्यौपानेले बताइन्।
भगवती न्यौपानेसहित समितिका अन्य सदस्यहरु भने यथास्थितिमै विधेयक पारित गर्नुपर्ने पक्षमा उभिएका थिए। समितिले भोलि नै राष्ट्रिय सभामा प्रतिवेदन पठाउने तयारी गरेको छ। राष्ट्रियसभाले पनि भोलि दिउँसो ३ बजे बस्ने बैठकबाट विधेयक पारित गर्ने तयारी रहेको बताइएको छ।
तर, संसद सचिवालयका महासचिव डाक्टर भरतराज गौतमले आज सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने समावेश गरिएको छैन।राष्ट्रपतिबाट फिर्ता पठाइएको विधेयक प्रतिनिधिसभाबाट विधेयक जस्ताको तस्तै पास भइसकेको छ। राष्ट्रियसभाबाट पनि पास गरेर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो ऐन बन्ने कानुनी व्यवस्था छ।








प्रतिक्रिया दिनुहोस्