काठमाडौं, १४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छन् । राष्ट्रपति भण्डारीले साँझ सो मन्दिरमा पुगेर मन्दिरको दर्शन र पूजाआजा गर्नाका साथै ब्रतालु महिलालाई तीजको शुभकामना दिएकी हुन् ।
राष्ट्रपति त्यहाँ पुग्दा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले स्वागत गरेका थिए ।
दर्शनका लागि पशुपतिनाथ पुगेकी राष्ट्रपति भण्डारीको सुरक्षाका लागि मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीज मनाउने गरिन्छ । यस वर्ष पनि हिन्दु नारीहरुले हर्षोल्लासका साथ तीज मनाएका छन् । आज देशभर पशुपतिसहित देशका विभिन्न शिवालयमा व्रतालु महिलाको भीड लागेको थियो । महादेव र देवी पार्वतीको व्रत बसेर पूजा आराधना गरे पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले निराहार व्रत बसी महादेवलाई प्राप्त गरेको धार्मिक मान्यता अनुसार तीज मनाउने चलन छ ।
हिजो सोमबार दर खाएपछि औपचारिकरुपमा सुरु भएको यो पर्व बिहीबार ऋषि पञ्चमीसम्म मनाइन्छ । आज तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि पर्व समाप्त हुन्छ । तीजलाई महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट पोख्ने पर्वका रुपमा समेत लिने गरिन्छ ।
अविवाहित महिलाले आजको दिन निराहार व्रत बसे महादेवजस्तै पति पाउने र विवाहित महिलाले भने परिवारको कल्याणका लागि व्रत बस्ने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्