काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच चुनावी तालमेलको खाका बनाउन निर्माण गरिएको कार्यदलले साझा अवधारणासमेत बनाउने भएको छ । आज बसेको गठबन्धन कार्यदलको बैठकपछि सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन् ।
पत्रकारसँग बोल्दै कार्कीले नेतृत्वले सुम्पेको जिम्मेवारी सम्पन्न गर्ने नजिक कार्यदल पुगेको बताए । हिजो संघीय र आज प्रदेशको सिट बाँडफाँटका विषयमा छलफल भएको उनको भनाइ छ ।
कार्कीले भने, ‘संघमा जस्तै प्रदेशमा पनि सबै दलहरुले आआफ्नो दावी पेश गर्नुभएको छ । त्यसका आधारमा छलफल गरेर निस्कर्षमा पुग्नेछौं ।’ उनले संघको निर्वाचन क्षेत्र एउटा पार्टीले पाएमा प्रदेश अर्कोलाई छाड्ने खालको मोडालिटीमा समझदारी भएको बताए । ‘सबैलाई बढी जितौं भन्ने आकांक्षा छ । त्यसैले दाबीहरु बढी नै हुन सक्छन् । त्यसलाई व्यवहारिक र अब्जेक्टिभ हिसाबले प्रतिवेदन तयार गरेर नेतृत्वलाई बुझाउने छौं ।’
उनले यो गठबन्धन चुनावपछिसम्म कायम रहने पनि बताए । त्यसका लागि सबैको साझा अवधारणा बनाएर जाने विषयमा गृहकार्य भइरहेको उनले जानकारी दिए । ‘यो गठबन्धन भनेको चुनाव जित्नलाई मात्र होइन, देशलाई स्थिरता र समृद्धितर्फ लैजान पनि हो,’ कार्कीले भने, ‘त्यसैले हामी साझा अवधारणा बनाएर चुनावमा जानेछौं ।’








प्रतिक्रिया दिनुहोस्