काठमाडौं, १० भदौ । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालयको अन्डरग्राउण्ड खाली गराएको छ। महानगरको एक टोली शुक्रबार त्रिपुरेश्वरस्थित कार्यालय पुगेर पार्किङ क्षेत्रमा राखिएका सामग्री अन्यत्र सारिदिएका छन्।
राहदानी विभागमा दैनिक हजारौं सेवाग्राहीको भिड लाग्छ । तर, विभागले आफ्ना सेवाग्राहीलाई विभाग परिसरमा पार्किङको सुविधा दिएको छैन। जसका कारण सेवाग्राहीले आसपासका गल्लीमा कष्टपूर्ण तरिकाले सवारी साधन राख्नु पर्ने बाध्यता रहेको छ ।
पार्किङका लागि बनाइएको ठाउँमा राहदानी विभागले सेवाग्राहीलाई बस्न दिने ठाउँ बनाएको थियो। महानगरका कर्मचारीले त्यहाँ रहेका कुर्सीहरू सारेर अन्यत्र राखिदिएका छन् । काठमाडौं महानगरले पछिल्लो समय पार्किङ व्यवस्थापनमा जोड दिइरहेको छ।
शुक्रबार दिउँसो नगर प्रहरी, महानगरीय ट्राफिक प्रहरीसँगको सहकार्यमा त्रिपुरेश्वरस्थित राहदानी विभागमा पार्किङका लागि बनाइएको भूमिगत स्थानमा कार्यालय राखिएको भन्दै महानगरले त्यहाँबाट वेटिङ चियर लगायत विभिन्न सामग्रीहरू हटाएको हो ।
राहदानी विभागको अवैध संरचना हटाउन महानगरका मेयर बालेन भने गएका थिएनन् । घर तथा भवन बनाउँदा नक्सा पास गर्दा पार्किङ रहने भने पनि ती ठाउँमा व्यापार लगायत गर्ने गरेको पाइएपछि महानगरले ती संरचना हटाउन थालेको हो।
प्रतिक्रिया दिनुहोस्